चितवन : चितवन राष्ट्रिय निकुञ्जमा बाढीले थुपारेको फोहोर उठाउन थालिएको छ । गत साउन २८ गते आएको बाढीले बगाएर ल्याएको मकवानपुर जिल्ला देखिका फोहोर उठाउन थालिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
सिसा तथा प्लास्टिक जन्य फोहोर अत्यधिक रहेकाले वन्यजन्तुको आहारा तथा बासस्थानमै असर पर्न थालेपछि क्षेत्रीय होटल संघको संयोजनमा चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, रेवान सौराहा, नेचर गाइड एशोसिएसन, बाघमारा वन, युनाइटेड हात्ती सहकारी, बाघ संरक्षण समिति, ग्रिन सोसाइटी, साना पर्यटन व्यवसायी, सपना भिलेज, वर्ड एजुकेशन सोसाइटी लगायत संघ संस्थाले फोहोर उठाउन थालेको हो ।
निकुञ्जको पूर्वी क्षेत्रबाट आजदेखि वृहत सरसफाइ तथा फोहोर व्यवस्थापन अभियान शुरु गरिएको कार्यक्रमका संयोजक जीतु तामाङले बताउनुभयो । उहाँले निकुञ्जको अन्य क्षेत्रमा समेत अभियान चलाइने बताउनुभयो । ‘नेपालीहरुमा नदीमा फोहोर फाल्ने बानी पनि छ, यसतर्फ सबै सचेत हुनुपर्छ’ तामाङले भन्नुभयो ।
फोहोर संकलन अभियानको सुरुवात गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले फोहोर कहाँबाट आयो भनेर अनुसन्धान गर्नु जरुरी रहेको बताउनुभयो ।
अबको १० दिनसम्म सञ्चालन हुने फोहोर उठाउने अभियानमा मजदुर तथा सुरक्षाकर्मी गरी झण्डै ४० जना परिचालन गरिएको छ । निकुञ्जभित्र नकुहिने फोहोर थुप्रिएकाले राप्ती नदीको मुहानक्षेत्र देखि नै सचेतना अभियानको खाँचो रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बताउभयो ।
यस्तै चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले बाढीले निकुञ्ज क्षेत्र डुबानमा परेकाले फोहोर थुप्रिएकाले निकुञ्ज भरि नै सरसफाइ चलाउनुपर्ने बताउनुभयो । सिसाजन्य फोहोर, प्लास्टिकका बोतल, जुत्ता, चप्पल, लत्ता कपडा लगायत फोहोर धेरै भेटिएको छ ।