काठमाडौ : मेलम्चीको सुरुङ खन्न अब १२ सय ९८ मिटर मात्र बाँकी रहेको छ । अम्बथान देखि ग्याल्थुमसम्म ५३० र ग्याल्थुम देखि सिन्धुसम्मको ७६८ मिटर गरी १२९८ मिटर सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले चार ठाउँबाट चौबीसै घण्टा सुरुङ खन्ने काम भइरहेको छ ।
आगामी चैत्रसम्ममा आयोजनाको पूर्वाधार निर्माण सम्पन्न गरी नयाँ बर्ष २०७५ सालमा काठमाडौ उपत्यकाको घर–घरमा पानी ल्याउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण भएको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरिनेछ । त्यहाँबाट थोक वितरण प्रणाली मार्फत काठमाडौ उपत्यका भित्रका १० वटा पानी पोखरीहरुमा पुग्नेछ । त्यसपछि वितरण सञ्जाल मार्फत उपत्यकाका घरघरमा पानी वितरण गर्ने गरी संरचना तयार भइरहेको छ ।
सरकारले यसअघि दशैं अघि नै मेलम्चीको खानेपानी काठमाडौ उपत्यकाका बासिन्दालाई वितरण गर्ने बाचा गरेको थियो । अहिले फेरि चैत्र मसान्तमा खानेपानी वितरण गर्ने नयाँ मिति तोकेको छ ।
तर चैत्र मसान्तमा सुरुङ निर्माणको काम, पाइप विछ्याउने र धारा जडानको काम लगभग सम्पन्न हुने देखिएपनि पूर्ण रुपमा काम सकेर पानी वितरण गर्न केही समय लाग्ने भएकाले मेलम्चीको खानेपानी काठमाडौका बासिन्दाले नयाँ बर्षमा पनि पिउन पाइनेमा शंका व्यक्त गर्न थालिएको छ ।


661 पटक हेरिएको 

