जथाभावी फोहोर फाल्ने विरुद्ध महानगर आक्रमक बन्दै

काठमाडौ : काठमाडौंको टेकु – त्रिपुरेश्वर खण्डमा जथाभावी फोहोर फाल्ने ८ जनाबाट १३ हजार रुपैयाँ जरीवाना संकलन गरिएको छ । सोमबार साँझ साढे ७ बजेदेखि साढे १० बजे सडकमा फोहोर फाल्दै गरेका उनीहरुलाई नगर प्रहरीको गस्तीले पक्राउ गरी जरीवाना लिएको हो ।

प्रहरीले टेकुको फन्को क्याफेबाट ५ हजार रुपैयाँ, टेकुबाट पक्राउ परेका खड्ग अछामीबाट ३ हजार रुपैयाँ र दीपक थापाबाट २ हजार रुपैयाँ जरीवाना लिएको हो । यस्तै भोटेवहाल क्षेत्रमा फोहोर फ्याँक्दै गरेका जागिर हुसेनलाई १ हजार रुपैया, विकास महर्जन तथा जाहुल हुसेनलाई पाँच/पाँच सय रुपैयाँ, टेकुको खरी बोटबाट पक्राउ परेका सालिन महत र सुरेश श्रेष्ठबाट पाँच/पाँच सय रुपैयाँ जरीवाना लिएको नगर प्रहरीले जनाएको छ ।

नगर प्रहरीले आइतबार होटलमा उत्पादन भएको फोहोर सार्वजनिक स्थलमा फाल्दै गरेको अवस्थामा काठमाडौंको कमलादीमा रहेको तिरुपति होटल प्रालिलाई ४ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

नगर प्रहरीले गत सोमबार राती काठमाडौंका विभिन्न स्थानमा फोहोर फ्याँकिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरी १६ हजार रुपैयाँ जरीवाना संकलन गरेको थियो ।

फोहोरको मात्रा र व्यक्तिले गर्ने व्यवहार लगायतको आधारमा जरीवाना लिने गरेको काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार