तेह्रथुम : म्याङलुङ नगरपालिका ८ आम्वुङका प्रेमबहादुर श्रेष्ठलाई गाउँमा विकासको लहर ल्याउने र त्यसमा पनि पानीको प्रबन्ध मिलाइदिने नेतालाई जिताउन मन छ । संसारी बजार नजिकै कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले गरिब जनताको बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिने नेतालाई भोट दिने बताउनुभयो ।
चुनाव जितेर जाने नेताहरुको व्यवहार हेर्दा भोट हाल्नै मन नलागेपनि गाउँमा खानेपानीको साह्रै दुःख भएकाले ल्याइदिन्छ कि भन्ने आशा पलाएको उहाँले बताउनुभयो ।
‘गाउँमा आएको ४८ करोड रुपैयाँ बजेटको खानेपानी आयोजना पार्टीका नेताहरुले फ्रिज गराए भन्ने सुनेको हुँ, अब त त्यसो नगर्ला नि भन्ने लाग्छ, हेरौं हाम्रो समस्या कस्ले बुझिदिन्छ’ उहाँले भन्नुभयो ।
म्याङलुङ नगरपालिकाका ६५ वर्षी डम्बर लोहारले पनि पानीकै समस्या भएको बताउनुभयो । ‘हामी ठूलो कुरा माग्दैनौं, मागेर पाउने पनि होइन, नेताले सोधे हामी पानी माग्छौं’ उहाँले भन्नुभयो । बारीमा तरकारी फलाएर नजिकै रहेको बजारमा बिक्री गर्न पाए आम्दानी हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । ‘बारीमा कतैबाट पनि सिँचाईका लागि पानी ल्याउने मुहान छैन । त्यसैले यस पटकको चुनावमा पानी ल्याइदिन सक्ने खालको नेतालाई भोट दिनेछु’ उहाँले भन्नुभयो ।
तेह्रथुममा विकासका अनगिन्ती समस्या भएपनि पहिलो आवश्यकता पानीकै रहेको उनीहरु बताउँछन् । वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक मर्मत र कालोपत्रे गर्नुपर्ने भएपनि त्यो भन्दा पहिलो आवश्यकता पानी नै भएको लालीगुराँस नगरपालिका १ नेभाङकी टिकादेवी बुढाथोकीले बताउनुभयो । ‘गाउँमा खानेपानी, सिँचाई, सडक लगायत धेरै समस्या छन्, चुनाव जित्नेले ती सबै काम गर्न नसके पनि खानेपानी ल्याईदिए हुन्थ्यो’ बुढाथोकीले भन्नुभयो ।


671 पटक हेरिएको 

