डोल्पामा बन्यो स्वचालित शौचालय, दिसा गरेपछि प्यान सेट सफा गर्नै नपर्ने (भिडियो) 

काठमाडौ : डोल्पाको सदरमुकाम दुनै बजारमा सार्वजनिक शौचालय बनाउने विषयमा धेरै पटक छलफल हुन्थे, तर अन्त्यमा निष्कर्ष बिनै टुङ्गिन्थे । सदरमुकाममा सार्वजनिक शौचालय बनाउने र स्रोत जुटाउने विषयमा पनि सरोकारवाला सबै सहमत हुन्थे तर निर्माण सम्पन्न भएपछिको व्यवस्थापनको कुरा आउँदा कोही सँग पनि उत्तम विकल्प हुँदैनथे । शौचालय बनाए पनि त्यसको सफाइ र रेखदेख कसले र कसरी गर्ने भन्ने विषयमा कुरा अड्किएपछि बैठक निष्कर्षविहीन हुन्थ्यो ।

एक दिन कुरामा कुरा हुँदै जाँदा ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक रबिन्द्र शाहीले फ्याट्ट भनिहाल्नुभयो ‘हाम्रो ठाउँमा फोर्सले पानी आउँछ, त्यही फोर्सले आएको पानीले साट्सुट पखाल्ने सिस्टमको बनाऔं ।’

खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय डोल्पाका तत्कालीन प्रमुख रमेश मण्डलले पनि यस विषयमा चासो राख्नुभयो ।
पछि कुरा हुँदै जाँदा सार्वजनिक शौचालय बनाउने तर स्वचालित बनाउने टुङ्गोमा पुगे । त्यत्तिबेलाको दिन सम्झिदै रविन्द्र शाही भन्नुहुन्छ ‘२०१५ को कुरा हो, अलि फुर्सद भएको बेला यो विषयमा सोच आयो, कसरी आफै सफा हुने चर्पी बनाउने भनेर घोत्लिएँ, गुगलमा सर्च गरेर हेरें ।

गुगलमा त अनेक थरीका शौचालय देखें, तर यहाँ त हाम्रो माटो, हावापानी, मानिसको आचरण सुहाउँदो पनि हुनुप-यो । मैले विश्राम लिइन, अनि खोज्दै गएँ, अध्ययन गर्दै गएँ । त्यही निरन्तरको प्रयासको फल हो, अहिले दुई बर्ष लगाएर भएपनि डोल्पा जस्तो ठाउँमा स्वचालित शौचालय बनाउन सफल भएको छु’

यस्तो छ स्वचालित शौचालय, हेर्नुहोस् भिडियो : 

शौचालयको विशेषता :

स्वचालित शौचालयको धेरै विशेषता छन्, आफै सफा हुने देखि मानिस आफैले सफा गर्न चाहेमा पनि सफा गर्न सकिने जस्ता विशेषता शौचालयमा रहेको ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक रबिन्द्र शाहीले बताउनुभयो ।

आफै सफा हुने

शुरुमा मानिस शौचालयमा छिर्ने वित्तिकै फ्लस सिस्टमबाट थोरै पानी चर्पीको प्यान सेटमा पोखिन्छ । यसले प्यान सेट भिजाउने काम मात्र गर्छ । तपाईले दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ ।

यदि तपाई आफैले शौचालय सफा गर्न चाहनुहुन्छ भने त्यो सुविधा पनि रहेको छ । तपाई आफैले सफा गर्नुभयो भने शौचालय आफैले प्लस गर्दैन, यसबाट पानीको खपत कम गर्न सघाउ पुग्छ ।

पचास जनाले प्रयोग गरेपछि भित्ता तथा सिलिङ पनि आफैले सफा गर्ने

यो शौचालय पचास जना व्यक्तिले प्रयोग गरेपछि शौचालयको चारैतिरको भित्ता र सिलिङ पनि आफैले सफा गर्छ । ‘सबैभन्दा महत्वपूर्ण कुरा त यो छ कि पचास जना मानिसले प्रयोग गरेपछि यसले मानिस छ छैन हेर्छ र मानिस भित्र नभएको बेला सबैतिर सफा गर्छ’ शाहीले भन्नुभयो ।

हात थापेपछि पानी र साबुन आउने

शौचालय जस्तै हात धुने ठाउँ पनि स्वचालित बनाइएको छ । हात थाप्ने वित्तिकै पानी र साबुन आउने शाहीले बताउनुभयो । ‘यो स्क्रीनिङ सिस्टममा आधारित छ, हात थापेपछि एकातिर पानी र अर्कोबाट डिटर्जेन्ट आउने व्यवस्था मिलाएको छ’ उहाँले भन्नुभयो ।

यसरी बन्योे डोल्पामा सुविधा सम्पन्न स्वचालित शौचालय

सामान्य चर्पी बनाउँदा फोहोर हुने, सफा गरिरहनुपर्ने र अन्त्यमा प्रयोग विहीन हुने सम्भावना बढेपछि स्वचालित शौचालय बनाउने निष्कर्षमा पुगे । यसको जिम्मेवारी ल्याप्को टेक्नोलोजिज प्रा.लि.लिए । खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय डोल्पाले ९ लाख ८५ हजार अनुदान दिने भयो, बाँकी रकम ल्याप्को र डेजर्ट डोल्पाले व्यहोर्नुपर्ने भयो । ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक रबिन्द्र शाही भन्नुहुन्छ ‘झण्डै १२ लाख रुपैयाँमा तयार भयो, डेजर्ट डोल्पा र ल्याप्कोको ३ लाख रुपैयाँ लगानी भएको छ ।’

दिसापिसाब गर्दा शुल्क नलाग्ने

सार्वजनिक शौचालयमा दिसापिसाब गर्दा शुल्क तिर्नुपर्ने भएपनि डोल्पाको दुनैमा निर्मित शौचालयमा दिसापिसाब गर्दा शुल्क तिर्नुनपर्ने भएको छ । ‘यहाँ जताततै खुला ठाउँ हुन्छ, मानिसहरु पैसा तिरेर दिसापिसाब गर्नुभन्दा खुला ठाउँमै दिसापिसाब गर्छन् त्यसैले निशुल्क गराएको हौ’ ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक रबिन्द्र शाहीले बताउनुभयो ।

शौचालय सञ्चालनका लागि विजुली र डिटर्जेन्ट परिवर्तन गर्न केही रकम लाग्ने भएपनि खासै अरु खर्च नलाग्ने उहाँले बताउनुभयो । दिसापिसाब गरेबापत शुल्क लिएर सञ्चालन गर्दा यसको उपयोग नहुने सम्भावना भएकाले व्यवस्थापकीय जिम्मा ठूलीभेरी नगरपालिका लिएर निशुल्क रुपमै प्रयोग गर्न दिइने भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार