धादिङ : धादिङको क्षेत्र नं. २ को प्रदेश ‘क’ का काँग्रेस उम्मेदवार रमेश धमला आफ्ना तीन जना कार्यकर्ता सहित धुसेनी गाउँमा पुग्नुभयो । धुसेनीमा विहानै पुगेपनि सबै घरको ढोका बन्द थिए । एकाविहानै ढोका बन्द भएको देखेपछि बालबालिकालाई सोध्दा घरका ठूला मान्छे पानी लिन पधेंरा गएको थाहा पाए ।
उम्मेदवार रमेश धमलाले पधेंरातिरै जाने निधो गर्नुभयो । धारामा पुग्दा तीन जना महिला र एक बालक खानेपानीको प्रतिक्षामा थिए । पधेरामा चार जना मात्र भएपनि गाग्री र अन्य भाँडाकुडा थुप्रै थिए ।
अलि माथिबाटै उम्मेदवार धमलाले नमस्कार गरेर सम्बोधन गर्दै जानुभयो । हातमा झण्डा बोकेका व्यक्ति देखेपछि अड्कल लगाउन उनीहरुलाई गाह्रो भएन । उम्मेदवारले आफ्नो परिचय दिन नपाउँदै धारामा पानीको प्रतिक्षामा बसिरहेका महिलाले पानीको दुःख भएको कुरा प्रस्तुत गर्न थाले ।

‘हेर्नुहोस् अरु केही भन्नु परेन, तपाईले देखिहाल्नुभयो, धारा छ, पानी आउँदैन हामी महिलाले कहिलेसम्म यस्तो दुःख भोग्ने ?’
भूकम्पपछि मूल सुकेर पानीको हाहाकार भएकाले अरू विकास भन्दा पहिले पानी ल्याइदिन आग्रह गरे ।
‘ठूलो बस्ती छ , पानी एक घण्टा मात्रै आउँछ । कतिखेर पानी आउँला र थापौंला भनेर हामी बसिरहेका छौं, भाँडाको लस्कर पनि तपाईले देखिहाल्नुभयो, सुक्दै गएको त्यही धारा देखाउँदै उम्मेदवार सामू आफ्ना माग दर्शाए ।
त्यसपछि बोल्ने पालो आयो उम्मेदवार धमलाको । उहाँले आफूले गाउँको सबै वस्तुस्थिति बुझेको र धादिङको दक्षिणी भेगमा भूकम्पपछि खानेपानीको समस्या चर्किएको बताउनुभयो । ‘मैले गाउँमा घुम्दा यही समस्या पाएको छु, तपाईहरुले भोट दिए जिताउँनुहोस् तपाईहरुको समस्या मेरो पनि समस्या हो म समाधान गर्ने प्रयास गर्छु’ उहाँले बाचा गर्नुभयो ।
मतदातालाई घरमा फेला पार्न नसकेपछि उम्मेदवारको प्रचारको शैली र समय पनि बदलिएको छ । अहिले बस्तीबस्तीमा पुगेर आमसभा गर्ने र घरदैलो गर्ने भन्दा पनि मतदाता कहाँ छ भनेर पहिचान गरेर उतै उतै जानुपरेको उहाँले बताउनुभयो ।
धादिङमा २ प्रतिनिधि र ४ प्रदेशसभाका लागि लोकतान्त्रिक र वाम गठबन्धनका गरी ३९ जना चुनावी मैदानमा छन् । ४ कार्यकाल सभासद भएका एमालेका राजेन्द्रप्रसाद पाण्डे, एक कार्यकाल विताएका शालिकराम जमरकट्टेल र निर्वाचन क्षेत्र २ का उम्मेदवार दिलमान पाख्रिन बाहेक अरू सबै नयाँ अनुहार छन् ।


790 पटक हेरिएको 

