बजेट अभावमा खानेपानी आयोजना निर्माणमा ढिलाई

उदयपुर : उदयपुरमा निर्माणाधीन खानेपानी आयोजनाहरु बर्षौ भइसक्दा पनि सम्पन्न भएका छैनन् । १७ वटा क्रमागत खानेपानी आयोजनाहरु मध्ये कतिपय सम्पन्न हुने चरणमा रहेपनि अधिकांश आयोजनाको काम सक्न अझै केही बर्ष लाग्ने भएको छ ।

मन्त्रालयसँग बजेट अभावका कारण आधा दर्जन योजनाको काममा ढिलाई भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सत्यनारायण शाहले बताउनुभयो । कतिपय उपभोक्ता समितिले मर्मत सम्भार कोषको रकम कोषमा जम्मा गर्न नसक्दा पनि काममा ढिलाई भएको उहाँले जानकारी दिनुभयो ।

खानेपानी आयोजनाको कुल लागतको १ प्रतिशत रकम निर्माणको काम भइरहेकै समयमा  कोषको खातामा जम्मा गर्नुपर्ने प्रावधान छ ।

उदयपुरमा मात्र १७ ओटा ठूला तथा साना खानेपानी आयोजना निर्माण भइरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको करिब १ अर्ब ९ करोड रुपैयाँ अनुदानमा ती आयोजनाको निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय उदयपुरका डिभिजन प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिका घोषणा भएको बर्षौ भइसक्दा समेत नगर क्षेत्रका हजारौं बासिन्दा खानेपानी जस्तो आधारभूत आवश्यकताबाट बञ्चित छन् । डिभिजन कार्यालयले उदयपुरको त्रियुगा, चौदण्डी, बेलका र कटारीमा पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

यी हुन् बर्षौदेखि निर्माणधीन अवस्थामा रहेका १७ खानेपानी आयोजना 
१. रामपुर ठोक्सिला खानेपानी आयोजना
२. बसाहा
३. बगाहा
४. लालपत्ता
५. खारखोला
६. रातमाटे
७. असारी
८. माडीवास
९. पाँचधारे
१०. रामपुर
११. हडिया
१२. ज्यामिरे
१३. मोतीगडा
 १४. जलजले
१५. चुहाडे
१६.  त्रियुगा सुकलाही
 १७. शहरे कालीखोला खानेपानी

पूर्वाधार निर्माणका लागि ३ वर्षको कार्य अवधि तोकिएपनि निर्माणाधनि आयोजनाहरु मध्ये कतिपय आयोजना धेरै बर्ष पुराना भइसकेका छन् । उपभोक्ताले कुल लागत रकमको १९ प्रतिशत बराबरको जनश्रमदान गर्नुपर्ने प्रावधान छ । निर्माणाधीन आयोजना सबै पम्पिङ प्रणालीमा आधारित रहेको इञ्जिनीयर साहले जानकारी दिनुभयो ।

निर्माणधीन खानेपानी आयोजनाबाट उदयपुरको नगरक्षेत्रका करि ६० हजार उपभोक्ता लाभान्वित हुने त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार