काठमाडौं : चुनावका क्रममा आफूहरुले गरेको प्रतिबद्धता पूरा गर्न काठमाडौ महानगरपालिकाका मेयर र उपमेयर सडकमै उत्रिएका छन् । मेयर र उपमेयरको नेतृत्व तथा महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाको समन्वयमा रत्नपार्क आसपासका दुई सडक खण्डका सरसफाइ गरिएको हो ।
सुन्धाराबाट शुरु भएर भोटाहिटीमा समापन भएको सरसफाइको अगुवाइ मेयर विद्यासुन्दर शाक्यले गर्नुभयो भने रणदीप चोकबाट शुरु भएको सफाइको नेतृत्व उपमेयर हरिप्रभा खड्गीले गर्नुभयो । रणद्धीप चोकबाट शुरु भएको सरसफाइ भद्रकालीमा पुगेर समापन भएको थियो ।
महानगरका बासिन्दालाई धुँवा धुलोको असरबाट बचाउन नमूना कार्यक्रम स्वरुप रत्नपार्क आसपासबाट सरसफाइ अभियानको शुरुवात गरिएको हो ।
सहरका सवै ठाउँमा एकै पटक काम गर्दा प्रभाव मुल्याङ्न गर्न नसकेकाले कार्यक्रम एकै ठाउँमा केन्द्रीत गरिएको र सफाइ अभियानमा विकास साझेदारसँग समन्वय गरेर पूर्वाधार निर्माण गर्ने मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।
‘निर्मित भौतिक अवस्थाको संरक्षण गर्ने काममा अब महानगरले अभिभावकको भूमिका निर्वात गर्नेछ’ उहाँले भन्नुभयो ।
‘चुनाव जिते पछि सहरबासीलाई धुँवा धुलो मुक्त बनाउने एजेण्डा राखेका थियौं, हामी मतदातालाई दिएको बचन पूरा गर्ने प्रयासमा छौं’ उपप्रमुख हरिप्रभा खड्गीले भन्नुभयो ।
सफाइमा नगर प्रहरी महाशाखाबाट अधिकृत सहित ४० जना र वातावरण व्यवस्थापन विभागका अधिकृत सहित ४० जनाको सहभागिता थियो । सफाइबाट १५ टन माटो संकलन गरिएको र संकलित धुलो माटो टेकु क्षेत्रमा व्यवस्थापन गरिएको महानगरपालिकाका कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।