जनतालाई पानी खुवाउन यी वडाध्यक्षले जुटाए, आफ्नै जग्गा धितो राखेर ४० लाख

कास्की : ‘मलाई जिताउनुहोस् म यहाँहरुलाई प्यास सहेर बाँच्न दिन्न, म खानेपानी ल्याईदिन्छु, गर्न सकिने कामको वाचा म गर्दिन’ कास्कीको कृस्ती, निर्मल पोखरी र भरतपोखरी गाउँका बासिन्दासँग चुनावी प्रचारका क्रममा खगराज आचार्यले यसरी नै भोट माग्नुभएको थियो ।

यसअघि पनि धोका नदिएका आचार्यले गरेको घोषणा ठीकै त होला भनेर मतदाताले पनि पत्याइदिए र पोखरा महानगरपालिकाको वडा नं. २१ को वडा अध्यक्षमा विजय गराइदिए ।

चुनावका क्रममा गरेको वाचा पूरा गर्न वडाध्यक्ष खगराज आचार्यले आफ्नै जग्गा धरौटी राखेर खानेपानी आयोजना निर्माण गर्दै हुनुहुन्छ । भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने पैसा अपुग भएपछि आचार्यले पोखरा लेखनाथ महानगरपालिका ३१ मा रहेको १० आना जग्गा धितो राखेर रकम जम्मा गरेका हुन् ।

सह खानेपानी आयोजना सञ्चालन गर्न ४० लाख रुपैयाँ अपुग भएको र आफूले बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेर रकम निकालेको उहाँले बताउनुभयो ।

पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म सडक निर्माण गर्दा पनि उहाँले जग्गा धितो राखेर डोजर लैजानुभएको थियो ।

यसरी निर्माण हुँदैछ आयोजना

सहलगानी आयोजना अन्तर्गत पोखरा २१ र ३३ मा पर्ने भरतपोखरी—निर्मल पोखरी–कृस्ती गाउँमा ३० करोड रुपैयाँको लागतमा आयोजना निर्माण हुन लागेको हो ।

उपभोक्ताको तर्फबाट व्यहोर्नुपर्ने १ करोड ५० लाख नगद रकम मध्ये ४० लाख रुपैयाँ अपुग भएपछि वडाध्यक्ष आचार्यले जग्गा धितो राखेर खानेपानी आयोजनाको खातामा जम्मा गर्नुभएको छ ।

अपुग पैसा जुटाइदिएपछि वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय कास्कीका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर नन्दलाल बन्जाडे बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अहिलेसम्म १ हजार २ सय ७१ घरधुरीबाट पैसा संकलन गरिसकिएको र बाँकी घरबाट पनि संकलन भएपछि वडाध्यक्षको जग्गा धितो फुकुवा गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन रकम संकलन गर्नुपर्छ । जस अनुसार महानगरपालिका २१ र ३३ का हरेक घरधुरीबाट १५ हजार रुपैयाँ संकलन गरिएको छ ।

‘वडाध्यक्षले जग्गा धितो राखेर रकम जम्मा नगरेको भए आयोजनाको सम्झौता गर्न ढिलाई हुने यसले निर्माणको काम देखि सम्पन्न हुन्जेलसम्म असर पर्ने हुन्थ्यो, अब एक महिनापछि नै टेन्डर निकालेर आयोजना पूरा गर्छौ’ अध्यक्ष शर्माले भन्नुभयो ।

भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष दाताराम शर्मा अनुसार फुर्सेखोला किनारको जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट डाँडामा पु-याइनेछ । उक्त पानी डाँडामा प्रशोधन गरी वडा नम्बर २१ र ३३ को टाकुरा र दक्षिणी भेगका घरघरमा वितरण गरिनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार