खानेपानी अभावमा ऐचोपैंचो : न नगरपालिकाले हे-यो, न खानेपानी कार्यालयले देख्यो

प्यूठान : ‘सब काम माया मारेर पानीकै लागि भौतारिनुपर्छ । दिनभरि काम गरेर घर आउँदा पानी नभएपछि छिमेकीसँग पानी पनि ऐचोपैंचौ चलाउनुपर्छ । नगरपालिका भनेर के गर्ने ? नगरपालिकाका बासिन्दा हामी पानीको समस्या झेलिरहेका छौं’ प्यूठान नगरपालिका वडा नं. ३ की अमृता जिसीले भन्नुभयो ।

खानेपानीको यस्तो समस्या एकघरको मात्र होइन । प्यूठान नगरपालिकाको दैलीसिमल, रातामाटा, चिलाउने डाँडा, डाँडागाउँ र जिमुरेका बासिन्दाले हिउँद बर्षा पानीकै समस्या झेल्दै आएका छन् ।

डाँडा गाउँका १ सय ५० भन्दा बढी घरपरिवार खानेपानी समस्याले इन्तु न चिन्तु भएका छन् । वस्तुभाउलाई खुवाउने पानी समेत नभएपछि स्थानीयबासिन्दाले पशुपालन व्यवसाय समेत त्याग्दै गएका छन् । २०५२ सालमा बनेको गाउँभरिकै एउटा धारोमा समेत पानी नआएपछि थप समस्या भएको छ ।

‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पानीको माग गर्दा पुरानै धारालाई मर्मत गर भन्ने जवाफ पायौं, पानीको मूल नै सुकेपछि स्थानीय बासिन्दाले संकलन गरेको १ लाख ५० हजार रुपैयाँ लागतमा बनाएको ट्याङकी समेत रित्तै भएको छ’ स्थानीय मुक्त बहादुर केसीले भन्नुभयो ।

त्यस्तै रातामाटामा २०६८ सालमा जिल्ला विकास समितिको कार्यालय प्यूठानले बस्ती विकास कार्यक्रमबाट १० लाख बजेट खर्च गरी बनाएको योजना समेत अलपत्र परेको छ ।

आश्वासन मात्र बाँड्यो नगरपालिकाले

घरघरमा खानेपानीको सुविधा पु-याउँछौं भनेर आश्वासन दिएर चुनाव जितेका नेताले समेत आफूहरुको समस्यामा मुकदर्शक बनेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेताले पनि आशा मात्र देखाए, खानेपानी कार्यालय र नगरपालिकाका कर्मचारीले पनि नेताको भन्दा बढी आश्वासन बाँडे’ हिम बहादुर जिसीले भन्नुभयो ।

तर नगर प्रमुख अर्जुन कुमार कक्षपतिले भने प्यूठान नगरपालिका कार्यालयमा निवेदन आएको भन्दै पानी पु-याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नगर कार्यपालिकाको बैठकबाट ती बस्तीमा खानेपानीको आपूर्ति गर्ने निर्णय भइसकेको कक्षपतिले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार