कालिकोट : कालिकोट सदरमुकाम मान्मबाट कालिकोट–जुम्ला सडकको झण्डै २० किलोमिटर दुरी पार गरेपछि पुगिन्छ पिली बजार । पिलीबाट तलतिर हेर्दा देखिन्छ सेरा गाउँ । सेरा गाउँका बासिन्दा झण्डै दश बर्ष पुरानो, भेराखोला सामुदायिक खानेपानी तथा सरसफाइ आयोजनाको पानी पिउँछन् ।
२०६४ असोजमा शुरु भएको यो योजना २८ लाख ३० हजारको लागतमा २०६५ जेठ १९ गते सम्पन्न भएको थियो । २०६५ साल देखि नै खानेपानीका लागि २ जना चौकीदारको व्यवस्था गरेपछि खानेपानीको दिगोपनामा टेवा पुगेको भेराखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार खानेपानीको महसुल प्रति घर, प्रति महिना सय रुपैयाँका दरले संकलन गरिन्छ । संकलित रकमबाट दुई जना चौकीदारको पारिश्रमिक दिईदै आएको छ । चौकीदारले पानीको समानुपातिक वितरण मात्र गर्दैनन्, सानातिना बिग्रे भत्किएको समेत मर्मत सम्भार गर्छन् ।
कोषाध्यक्ष शाही भन्नुहुन्छ ‘चौकीदार नभएको भए यो पानी हामीले यसरी नियमित रुपमा उपभोग गर्न पाउँदैनथ्यौं, सामान्य मर्मत सम्भारको काम पनि जान्ने चौकीदार राखेका छौं, खानेपानीको मर्मत सम्भार कसरी गर्ने भन्ने तालिम पनि दिलाएका छौं, अनि मर्मत सम्भार गर्ने उपकरण पनि दिलाएका छौं, यसले गर्दा अहिलेसम्म पनि खानेपानी पिउन पाएका छौं ।’
हरेक धारामा एक जना मुख्य व्यक्ति
हरेक धाराबाट लाभन्वित उपभोक्ताहरु मध्येबाट एक –एक जना नेतृत्वकर्ता पनि तोकिएको छ, भेराखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ।
ती नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिले धाराको संरक्षण देखि खानेपानी महसुल संकलन गर्ने सम्मको काम गर्छन् । ‘धारामा पशुको प्रवेश भएमा, केटाकेटीले विगारेमा, धारा फोहोर भएमा उपभोक्तालाई परिचालन गर्ने काम धारा प्रमुखको काम हुन्छ’ कोषाध्यक्ष शाहीले भन्नुभयो ।
उपभोक्ता समितिद्वारा सरसफाइ सम्बन्धी क्रियाकलाप पनि सञ्चालन
खानेपानीको संरचना विग्रिदा उपभोक्ता सबै भेला भएर मर्मत सम्भार गर्ने गरिएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलापहरु पनि सञ्चालन गर्दै आएको कोषाध्यक्ष शाहीले बताउनुभयो ।
धाराको सरसफाइ, हरेक घरमा फिल्टरको व्यवस्था, खानेपानी ट्यांकीको सफाइ, भाँडा सुकाउने चाङ बनाउने लगायत काम पनि समितिले नै गर्दै आएको उहाँले बताउनुभयो ।
अनुगमन समिति गठन गरी सरसफाइ तथा खानेपानी संरचनाको नियमित अनुगमन पनि हुदै आएको उहाँले बताउनुभयो ।
खानेपानी अटुट रुपमा पिउन पाएपछि भेराखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य तथा उपभोक्ताहरु पनि सन्तुष्ट छन् । खानेपानीको विषयमा कुनै गुनासो नरहेको उपभोक्ताहरु बताउँछन् ।


779 पटक हेरिएको 

