भोट माग्न पुगेका उम्मेदवारलाई खाली इनार देखाएपछि…

धनुषा : वाम गठबन्धनका उम्मेदवार एमाले नेता रघुवीर महासेठ र शत्रुधन महतो मत माग्दै मिथिला नगरपालिका ५ मा पुगे, स्थानीयबासिन्दा ४५ वर्षीय किसुनदेव महतोको घरमा हात जोड्दै भोट माग्न साथ महतोले देखाए खाली इनार । ‘इनार छ, तर पानी छैन, भोट माग्न आउनुहुन्छ, काम गर्नु हुन्न ।’

खाली इनार देखेपछि प्रदेशसभा उम्मेदवार शत्रुधनले आफूलाई जिताइदिए इनार बनाइदिने आश्वासन दिनुभयो ।

महतोको घरअघि ५ वर्षपहिले इनार खन्न थालेपछि गाउँमै खुसी छाएको थियो । तर, घरअघिको ९० फिट गहिरो इनारबाट ५ वर्ष बित्दा पनि पानी उपभोग गर्न पाएनन् ।

अनुदानमा आएको इनार न सरकारले पूरा गर्‍यो न आश्वासन दिएर भोट बटुलेका नेताले । दोस्रो संविधानसभा चुनावमा भोट माग्न आएका उम्मेदवार इनार बनाइदिने भन्दै आएका थिए ।

स्थानिय तह चुनावमा भोटका लागि आएका उम्मेदवारले इनारको काम गराउने पटक–पटक आश्वासन दिएका थिए ।

मंसिर २१ मा हुन लागेको चुनावका लागि भोट माग्न आउने नेताले पनि इनारको काम गराएर खानेपानी व्यवस्थापन गर्ने आश्वासन दिए पनि आफूलाई विश्वास नलागेको महतोले बताउनुभयो ।

स्थानीय सञ्जय महतोका अनुसार श्रीपुरमा विकास र रोजगारी भन्दा पनि खानेपानीको समस्या प्रमुख छ । ‘किसानले चाहेर पनि इनार आफ्नै लगानीमा बनाउन नसक्ने उहाँले बताउनुभयो । ‘सय फिट गहिरो इनार बनाउन ७/८ लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । खर्च भए पनि इनारमा पानी आउनेरनआउने निश्चित हुँदैन, त्यसैले व्यक्तिगत खर्च गरेर इनार बनाउने आँट कसैले गर्न सक्दैन ’

खानेपानीका लागि श्रीपुरमा बनेका इनार र धारा बनेपनि पानी नआउँदा समस्या झेल्नुपरेको हो । अनुदानको धारा र इनारले किसानको जग्गा ओगट्दा खेतीपाती समेत लगाउन नपाएको विन्देश्वर यादवले बताउनुभयो ।

१४ जना परिवारका लागि पानी ओसार्दै आउनुभएकी श्रीपुरकी ६० वर्षीया रामपरी देवी भन्नुहुन्छ ३ पुस्तादेखि एउटै इनारबाट पानी खाइरहेका छौं, हाम्रो सबैभन्दा ठूलो माग खानेपानी नै हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार