पर्वत : पर्वतको फलेवास नगरपालिकाको वडा नं. ३ शङ्करपोखरीमा २४ करोड लागतमा बृहत् खानेपानी आयोजना शुरू हुने भएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदानमा आगामी पुसदेखि शङ्करपोखरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम शुरु हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो ।
१७ वर्षअघि निर्माण भएको डहरे देउराली खानेपानी आयोजनाले माग आपूर्ति गर्न नसकेपछि शङकर पोखरीमा खानेपानीको समस्या भएको हो ।
नयाँ योजना सँगै डहरे देउराली खानेपानी आयोजनाको समेत मर्मत सम्भार गर्ने भएकाले सरकारले २४ करोड बजेट विनियोजन गरेको डिभिजन प्रमुख डोटेलले जानकारी दिनुभयो ।
सात सय घर लाभान्वित
शङ्करपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि शङ्करपोखरीका ७ सय घरपरिवार लाभान्वित हुनेछन् ।
गत जेठमै सर्भेको काम सकिएको उक्त आयोजनाको लागत इस्टिमेट तयार गर्ने काम सकिएको छ । टेण्डरको काम पूरा हुने बित्तिकै निर्माण शुरू हुने डोटेलले बताउनुभयो ।
डोटेलका अनुसार स्थानीय पाँच ओटा मूलबाट लिफ्ट सिष्टमबाट पानी तानिनेछ । आयोजनामा १ हजारदेखि ५ हजार लिटर सम्मका पाँच ओटा ट्याङ्की निर्माण हुनेछन् ।
आयोजनाले ‘एक घर, एक धारा’ अवधारणा अनुसार पानी वितरण गर्ने जनाएको छ । आयोजना शुरु भएको २ वर्षभित्र सम्पन्न हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो ।


942 पटक हेरिएको 

