काठमाडौं : काठमाडौं महानगरपालिकाले चुनाव हुने दिन मंसिर २१ गते फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ । चुनावका दिन फोहोर संकलन गर्ने जनशक्ति र सवारी साधन तथा उपकरण परिचालन गर्न कठिन हुने भएकाले फोहोर बाहिर नफ्याँक्न र नथुपार्न आग्रह गरेको हो । महानगरले चुनाव पछि आउने गाडीमा मात्र फोहोर जिम्मा लगाउन आग्रह गरेको छ ।
चुनावका दिन फोहोर संकलनका कारण मतदान गर्न अफ्ठ्यारो नहोस् भन्ने हेतुले पनि फोहोर संकलनको काम नगर्ने भएको हो । ‘महानगरका बासिन्दालाई चुनावका दिन घर, पसल, उद्योग, व्यवसायबाट निस्कने फोहोर सडकमा नफ्याँक्न आग्रह गरेका छौं’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताउनु भयो ।
उहाँले चुनावको भोलिपल्ट नै फोहोर संकलन गर्न सफाइकर्मी खटाइने बताउनुभयो । महानगरले गरेको आग्रहलाई महानगरका बासिन्दाले सहयोग गर्ने विश्वास लिएको विभागीय प्रमुख कुँवरले बताउनुभयो । ‘सहरी सुन्दरता कायम राख्न महानगरका बासिन्दाले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ’ विभागीय प्रमुख कुँवरले भन्नुभयो ।