मेलम्चीको सुरुङ खन्न ७७८ मिटर मात्र बाँकी

काठमाडौ : मेलम्चीको सुरुङ खन्न अब ७ सय ७८ मिटर मात्र बाँकी रहेको छ । डिसेम्बर महिनाको पहिलो ९ दिनमा मात्र ११७ मिटर सुरुङ खनेको मेलम्ची खानेपानी आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल २७ किलोमिटर ५८४ मिटर मध्ये नोभेम्बर महिना सम्ममा २६ किलोमिटर ६८९ मिटर सुरुङ खनेको र डिसेम्बर लागेपछि थप ११७ खनेपछि अहिले सम्म २६ किलोमिटर ८०६ मिटर सुरुङ खनिसकेको छ । अहिले दैनिक साढे १४ मिटर सुरुङ खनिरहेको छ ।

आगामी चैत्र सम्ममा आयोजनाको पूर्वाधार निर्माण सम्पन्न गरी नयाँ बर्ष २०७५ सालमा काठमाडौ उपत्यकाको घर–घरमा पानी वितरण गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण भएको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरिनेछ ।

त्यहाँबाट थोक वितरण प्रणाली मार्फत काठमाडौ उपत्यका भित्रका पानी पोखरीहरुमा पुग्नेछ । त्यसपछि वितरण सञ्जाल मार्फत उपत्यकाका घरघरमा पानी वितरण गर्ने गरी संरचना तयार भइरहेको छ ।

सुन्दरीजलमा निर्माण भएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको यसअघि नै सफल परिक्षण गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार