काठमाडौ : शौचालय बनाउने इच्छा मात्र हुनुपर्छ शौचालय अनेक किसिमका बन्छन् । शौचालय बनाउने कुरा गर्दा आम्दानीको कुरा पनि सँगसँगै आउँछ । धेरै आम्दानीहरु हुनेहरु धेरै रकम खर्च गरेर धेरै सेवा सुविधा भएको शौचालय बनाउँछन् । तर जसको सीमित आम्दानी हुन्छ, उसले जहिल्यै पनि कम खर्चमा टिकाउ र चिटिक्क परेको शौचालय कसरी बनाउने होला भन्ने सोचिरहेको हुन्छ ।
शौचालयलाई कसरी किफायती बनाउने त ? सरसफाइविद नमस्तेलाल श्रेष्ठको केही टिप्स :
१. घरको भित्तासँगै टाँसेर बनाउने
‘मैले धेरै ठाउँमा धेरै खाले शौचालय देखेको छु, मानिसलाई जब समस्या पर्दै जान्छ त्यसको जुक्ति पनि आफ्सेआफ निस्कदै जान्छ ।

जस्तै चर्पी बनाउने खाली जग्गा नभएकाहरुले घरसँगै जोडेर शौचालय बनाएको देखेको छु । यसो गर्दा के हुँदो रहेछ भने चर्पी बनाउन चारवटा भित्ता निर्माण गर्नुपथ्र्यो भने घरसँगै जोडेर बनाउँदा तीन वटा मात्र बनाउदा पुग्दो रहेछ । यसले एउटा भित्ता बनाउन लाग्ने खर्च त जोगायो नि ?’
२. स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्ने
जहाँ जे पाइन्छ त्यसैको शौचालय बनाउने । यसले पनि लागत घटाउँछ । जस्तै बाँस हुने ठाउँमा बाँसको बार बनाउने, त्यहाँ प्लाई खोज्न थाल्यो भने त्यसको खर्च बढ्न सक्छ ।
पहाडतिर ढुङ्गा पर्याप्त पाइने ठाउँमा ढुङ्गा प्रयोग गरेर बनाउने । यस्तै छानो छाउँदा पनि सबै ठाउँमा जस्तापाता मात्र खोजेर हुँदैन । खर छ भने खर र काठ उपलब्ध हुन्छ भने काठको छानो हाल्न सकिन्छ । बाँस उपलब्ध हुने ठाउँमा त चारैतिरको बार र छानो पनि बाँसको चित्रा बुनेर पनि लगाउन सकिन्छ ।
३. सेफ्टी ट्याङ्क वा सेफ्टी पिट दुईवटा बनाउने
एउटा मात्र सेफ्टी ट्याङ्क बनाउँदा एक दुई बर्षमै भरिएर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या सिर्जना हुन थालेको छ । त्यसलाई निकाल्न एउटा समस्या छ भने निकालेर विसर्जन गर्ने ठाउँको पनि अभाव छ । त्यसैले सकेसम्म एक मिटरको फरकमा अर्को सेफ्टी ट्याङ्क पनि बनाउने ।
यसो गर्दा एउटा भरिएपछि अर्को सेफ्टी ट्याङ्क प्रयोग गर्ने । यसो गर्दा पालैपालो प्रयोग गर्न सकिन्छ र अनन्तकालसम्म प्रयोगमा ल्याउन सकिन्छ । भरिएको सेफ्टी ट्याङ्कको दिसाजन्य लेदो बढीमा २ बर्षमा माटो जस्तै हुने भएकाले आफैले निकाल्न सकिन्छ र त्यसलाई खेतीपातीमा प्रयोग गर्न मिल्छ । यसले हाम्रो स्वास्थ्यलाई कुनै हानि पु-याउँदैन ।
३. रिङ राखेको जमिनमा प्लास्टर नगर्ने
खास गरी तराईमा सेफ्टी ट्याङ्का लागि रिङको प्रयोग हुने गरेको छ । रिङ प्रयोग गर्दा यसको सतहमा प्लास्टर नगरे पनि हुन्छ । प्लास्टर नगर्दा जमिनले पानी सोस्न पाउँछ । जमिनले पानी सोस्ने र जमिनले नै ग्याँस पनि सोस्ने भएकाले भरिन पनि समय लाग्छ र ग्यास पाइपमा लाग्ने खर्च पनि जोगिन्छ । एउटा रिङ र अर्को रिङ खप्ट्याउँदा पनि सिमेन्टले प्लास्टर नगरी माटोले ढाकिदियो भने ग्यास पनि जमिनले नै सोस्छ र ग्यास पाइप नराखे पनि हुन्छ ।
४.सतहसम्म पक्की र त्यसपछि कच्ची बनाउने
कच्ची चर्पी बनाउँदा गन्हाउने र सफा राख्न पनि गाह्रो भएकाले जगसम्म (सतहसम्म) को भाग पक्की नै बनाउनुपर्छ । त्यसपछिको भाग जस्तो साधन प्रयोग गरेर बनाए पनि हुन्छ ।
लाज छोप्नका लागि बोरा, चित्रा, प्रकाश नछिर्ने र नदेख्ने प्लास्टिक वा आफ्नो ठाउँमा जे पाइन्छ त्यही स्रोत साधनको प्रयोग गरेर बनाउन सकिन्छ ।
यी बाहेक अरु उपायहरु पनि धेरै हुनसक्छन् । जुन तपाई आफैले आवश्यकताको आधारमा अवलम्बन गरिसकेको हुनसक्छ ।
त्यसैले पहिलो कुरा शौचालय बनाउँछु भन्ने दृढ इच्छा लिनुपर्छ । चर्पी बनाउन आर्थिक अभाव त बहाना मात्र हो । आफ्नो हैसियत अनुसार जस्तो सुकै चर्पी बनाउन सक्ने भएकाले तपाईको घरमा पनि चर्पी छैन भने आजै चर्पी बनाउने प्रण गर्नुहोस् ।


1068 पटक हेरिएको 

