विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम, पूरा गरौं सातै चरण

 1170 पटक हेरिएको

काठमाडौं : तपाई हाम्रो गाउँवस्ती, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुलादिसामुक्त गरेपछि सफा र स्वच्छ चरण हुँदै पूर्ण सरसफाइयुक्त घोषणा त गर्दै आएका छौं तर विद्यालयलाई पूर्ण सरसफाइ घोषणा गरेको नहोला ?

अब विद्यालयलाई पनि पूर्ण सरसफाइ घोषणा गर्ने नयाँ अवधारणा आएको छ । यो नमुनाको रुपमा काभ्रेको स्वेततारा मावि र कास्कीको अम्बिका माविमा शुरु गरेपछि अहिले अरु विद्यालयले समेत अवलम्बन गर्न थालेका छन् ।

यसलाई सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम नामाकरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल तथा मनोरञ्जनका माध्यमबाट पूर्ण सरसफाइमा समाहित गराउने विधिलाई सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम भनिन्छ ।

विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम प्रभावकारी भएपछि कसैको सहयोग विनै काठमाडौको किर्तिपुरमा रहेको जनसेवा माध्यमिक विद्यालय र मंगल माध्यमिक विद्यालयले शुरुवात गरेका छन् ।

तपाई पनि आफ्नो विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गरी विद्यालयलाई पूर्ण सरसफाइयुक्त बनाउन चाहनुहुन्छ ? यसका लागि सबैभन्दा पहिले यसका चरणहरु थाहा पाउनुपर्दछ । सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनका लागि सातै चरण हुन्छन् ।

चरण नं. १. समूह गठन

सर्बप्रथम विद्यालयमा अध्ययनरत बालबालिकाको समूह गठन गरिन्छ । यसमा सात वटा समूह बनाउनु पर्दछ । हरेक समूहको क्याप्टेन, उप क्याप्टेन तथा एक जना फोकल शिक्षक समेत छनौट गरिन्छ । हरेक समूहले एक एक वटा सूचकको प्रतिनिधित्व गर्नुपर्छ ।

जस्तै : एउटा समूहले सफा चर्पीको प्रयोगको अवस्थालाई प्रतिनिधित्व गर्नुपर्छ, दोस्रो समूहले हात धुने र व्यक्तिगत सरसफाइको अवस्था हुनसक्छ । एवं रीतले तेस्रो समूहले महिनावारी धारणा, स्वच्छता र सरसफाइ, चौथो समूहले विद्यालयमा खानेपानी तथा सरसफाइमा समानता हेर्नुपर्छ । यस्तै पाँचौं समूहले विद्यालयमा पानीको पर्याप्त मात्रा, सुरक्षित मुहानको पानी, प्रशोधित पानी जस्ता पक्षको विश्लेषण गर्नुपर्छ । छ्रैटौं समूहले सुरक्षित खानाको अवस्थाको प्रतिनिधित्व गर्नुपर्दछ भने सातौं समूहले सफा वातावरणको प्रतिनिधित्व गर्नुपर्छ । यी सबै समूहलाई सरसफाइ प्रतिकका रुपमा फरक फरक रङको झण्डा दिइन्छ ।

चरण नं. २. अवस्था विश्लेषण

समूह गठन भएर आ आफ्नो जिम्मेवारी प्राप्त भएपछि हरेक समूहले अवस्थाको विश्लेषण गर्नुपर्छ । जस्तै चर्पीको प्रयोगको अवस्था कस्तो छ ? विद्यार्थी संख्याको अनुपातमा शौचालय सुविधा छ वा छैन ? छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालय छ वा छैन जस्ता पक्षको हरेक समूहले विश्लेषण गर्नुपर्दछ । त्यसैको आधारमा आफ्नो झण्डाको अवस्था कस्तो छ भन्ने पत्ता लाग्छ ।

 

चरण नं. ३. सरसफाइ सम्मेलन

सात झण्डे पूर्ण सरसफाइको तेस्रो चरण हो सरसफाइ सम्मेलन । विद्यालयको सरसफाइका लागि आवश्यक सरसफाइ सुविधाको अवस्था विश्लेषण गरेपछि विद्यालयले सरसफाइ सम्मेलनको आयोजना गर्न सक्छ ।

सम्मेलनमा सरसफाइ सुविधाको अवस्था विश्लेषण गरिएको तथ्याङ्क मात्र नभई सरसफाइ सँग सम्बन्धित अरु क्रियाकलापहरु समेत गर्न सकिन्छ । यो विद्यालयको सिर्जनशीलतामा भर पर्ने कुरा हो । जस्तै सरसफाइ गीत प्रतियोगिता, सरसफाइ नाटक, सरसफाइ कविता प्रतियोगिता लगायत थुप्रै क्रियाकलापहरु गरेर सरसफाइ सम्मेलन गर्न सकिन्छ ।

चरण नं. ४ सुधारका कार्यक्रमहरु सञ्चालन

दोस्रो चरणमा अवस्था विश्लेषणबाट पनि विद्यालयमा आवश्यकीय सरसफाइ सुविधाहरुको अवस्था पत्ता लागिसकेको हुन्छ । सरसफाइ सम्मेलका दिन त्यसलाई हरेक झण्डाको माध्यमबाट जानकारी गराइन्छ । जस्तै सफा चर्पीको प्रयोगको अवस्था एकदमै राम्रो छ र ८० प्रतिशत अंक प्राप्त गरेको छ भने यसको झण्डा सबैभन्दा उच्च हुन्छ ।

यस्तै महिनावारी धारणा, स्वच्छता र सरसफाइमा ४५ प्रतिशत मात्र अंक प्राप्त गरेको छ भने यो समूहको झण्डा सबैभन्दा निम्न स्थानमा रहन्छ । अब यो समूहको सोच जहिले पनि कसरी यो झण्डालाई उठाउने भन्ने हुन्छ । यसका महिनावारी धारणा, स्वच्छता र सरसफाइको अवस्था सुधार्नका लागि विभिन्न क्रियाकलापहरु गर्न क्रियाशील हुन्छन् ।

चरण नं. ५ बजेट व्यवस्थापन

यी सबै क्रियाकलापहरु सञ्चालन गर्न केही न केही रकमको आवश्यकता पर्दछ । विद्यालयमा सरसफाइ प्रर्बद्धनका क्रियाकलापहरु सञ्चालन गर्न बजेट व्यवस्थापन गर्नु पर्दछ । किर्तिपुरको जनसेवा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीले जन्मदिनको अवसरमा स्वेच्छाले सरसफाइ कोषमा रकम जम्मा गर्दै आउनुभएको छ । यस्तै मंगल माविका छात्रछात्राले खाजा खर्चबाट छुटाएर ५ रुपैयाँ बचत गर्दै आएका छन् ।

चरण नं. ६ सम्मान तथा प्रोत्साहन

विद्यालयमा सरसफाइ सुविधाको गुणस्तर बढाउन आ आफ्नो समूहबाट क्रियाशील सदस्य, क्याप्टेन तथा उप क्याप्टेनहरुलाई विद्यालयमा आयोजना हुने विभिन्न समारोहमा सम्मान तथा प्रोत्साहन गर्नुपर्दछ । यसले उनीहरुको मनोबल बढाउँछ र गर्वको महसुस गरी विद्यालयको सरसफाइको अवस्था सुधार गर्न अझ मद्दत मिल्छ ।

चरण नं. ७ पूर्ण सरसफाइ घोषणा

विद्यालयको सरसफाइको अवस्थालाई दर्शाउन प्रतिकका रुपमा राखिएका सातै वटा झण्डाले ७५ प्रतिशत पूरा गर्यो भने विद्यालय पूर्ण सरसफाइ भयो भन्ने मान्नुपर्दछ । यसका लागि हरेक झण्डामुनि आवद्ध छात्रछात्रा तथा फोकल शिक्षकहरु आफ्नो झण्डालाई माथि उठाउन प्रयत्नशील हुन्छन् । चरण नं. ३ मा विद्यालय सरसफाइ सम्मेलन गरे झैं अब पूर्ण सरसफाइ घोषणा कार्यक्रम गरिनेछ । पूर्ण सरसफाइ घोषणा गरेपछि पनि विद्यालय सरसफाइका क्रियाकलापहरुलाई नियमित राख्नुपर्दछ ।

विश्व स्वास्थ्य संगठनका प्रोफेश्नल अफिसर डा. सुदनराज पन्थीको भनाइमा आधारित ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार