खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाइ सप्ताह सुरु गरेको छ । ‘सुन्दर, सफा र स्वच्छ’ नगर निर्माणका लागि नगरपालिकाले आज (बुधबार) देखि पुरानो फोहोर हटाउने उद्देश्यले सरसफाइ सप्ताह शुरु गरेको हो ।
हप्तासम्म सरसफाइ गरी करिब एक हजार ट्याक्टर पुरानो फोहोर संकलन गरी ल्याण्डफिल साईटमा व्यस्थापन गरिने नगरपालिकाले जनाएको छ ।
दिक्तेलको रत्नपार्कमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभाका सदस्यहरु राजन राई र रामकुमार राई लगायतले पुरानो फोहोर उठाएर ट्याक्टरमा हालेर सरसफाइ अभियानको थालनी गर्नुभयो ।
सरसफाइ सप्ताहका क्रममा वर्षौदेखि थुप्रिएको पुरानो फोहोरलाई हटाएर सरसफाइलाई नियमित र निरन्तर रुपमा सञ्चालनका लागि एक हप्तासम्म सरसफाइ गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
पुरानो फोहोर हटाउनका लागि नगरपालिकाले चलाएको अभियानमा नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, म्यादी प्रहरी, स्थानीय व्यवसायी, शिक्षण संस्था, स्थानीयबासिन्दाले सहभागिता जनाएका थिए ।
नगरपालिकाले स्थानीय संघसंस्था, उद्योगी, व्यवसायी, शिक्षण संस्था लगायतको सहयोगमा पुरानो फोहोर हटाउन अभियान थालेको हो ।