यी हुन् सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्न नसक्नुका पाँच कारण

भक्तपुर : सरकारले सन् २०१७ भित्र सबै नागरिकको घरमा आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु-याउने राष्ट्रिय लक्ष्य अन्ततः पूरा नहुने भएको छ ।

लक्ष्य पूरा गर्न तोकेको समय सकिन ४ दिन मात्र बाँकी रहँदा भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था तथा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा सरकारले तोकेकै समयमा लक्ष्य पूरा गर्न नसकेको औपचारिक जानकारी गराएको हो ।

‘९९.९ प्रतिशत सरसफाइ सुविधा पु-याउन सके धेरै खुसी हुने थियौं, तथापि ९५ प्रतिशत नागरिकमा आधारभूत स्तरको सरसफाइ सुविधा पु-याउन सफल भएका छौं’ खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले भन्नुभयो ।

तोकेकै समयमा देशलाई नै खुलादिसामुक्त घोषणा गर्न प्रयासरत रहेपनि निम्न पाँच कारणले राष्ट्रिय लक्ष्य हासिल गर्न नसकेको उहाँले बताउनुभयो ।

 

 

यी हुन् मुख्य पाँच कारण

कारण १. भूकम्प

२०७२ वैशाख १२ को भूकम्पले घर सँगै शौचालय पनि भत्किएको र बेला बेलामा आइरहने परकम्पनका कारण घरै छोडेर बाहिर बस्नुपर्दा शौचालय पनि बनाउन नसकेकाले सरसफाइको लक्ष्य प्रभावित भएको विभागले जनाएको छ ।

भूकम्पले जत्ति घरमा क्षति पु-यायो, त्यत्ति नै शौचालयमा क्षति नपु-याएपनि शौचालय बनाउने अभियानमा बाधा पुगेको र घर नयाँ निर्माण सँगै अहिले नयाँ शौचालय पनि निर्माण भइरहेको विभागले जनाएको छ । भूकम्पले देशभर ७ लाख ६७ हजार ७०५ घरमा पूर्ण क्षति पु-याएको थियो ।

कारण २. तराई आन्दोलन

समयमै लक्ष्य पुरा गर्न नसक्नुको अर्को कारण तराई आन्दोलनलाई पनि लिएको छ । तराईमा लामो समयसम्म आन्दोलन हुँदा सरसफाइ अभियानलाई अघि बढाउन नसकेको र शौचालय बनाउने दर अति नै सुस्त भएकाले सरसफाइ अभियान प्रभावित भएको विभागले जनाएको छ । तराई आन्दोलन भएका १४ जिल्लामा ८९ दशमलव ४९ प्रतिशत घरमा मात्र चर्पी बनेका छन् ।

कारण ३.  नाकाबन्दी

भारतले लगाएको अघोषित नाकाबन्दीका कारणले पनि सरसफाइ अभियान प्रभावित भएको विभागले जनाएको छ । सरसफाइ अभियानले गति लिइरहेको बेला नाकाबन्दीले आयात निर्यात ठप्प बनाएपछि सरसफाइ अभियान प्रभावित भएको विभागको ठम्याई छ ।

कारण ४. तराईको बाढी तथा डुबान

सरसफाइमा राखेको लक्ष्य समयमै पूरा गर्न नसक्नुको अर्को कारण तराईको बाढी तथा डुबानलाई पनि मानेको छ । संयुक्त अनुगमन टोलीले हालै गरेको अध्ययनले बाढी तथा डुबानले प्रयोग नै गर्न नमिल्ने गरी शौचालयमा क्षति नपुगेपनि सरसफाइ अभियानलाई प्रभावित बनाएको विभागले जनाएको छ ।

गत साउन २६ गतेदेखि २८ गतेसम्म आएको बाढी र डुबानले ३६ जिल्लाका ९ लाख मानिस प्रभावित भएका थिए ।

कारण ५. चुनाव

लक्ष्य प्राप्तिको अन्तिम बर्ष चुनावमय हुँदा सरसफाइ अभियान ओझेलमा परेको विभागको आंकलन छ । शौचालय बनाउनुपर्ने नागरिक समेत चुनावी गतिविधिमा होमिदा स्थानीय तहमा शौचालय बन्न नसकेको र राष्ट्रको ध्यान पनि चुनावमै केन्द्रित भएकाले सरसफाइ अभियानलाई सोचे जत्ति गति दिन नसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीले बताउनुभयो ।

सरसफाइयुक्त राष्ट्र साकोसन बैठक अघि : सचिव विसी

खानेपानी तथा सरसफाइ सचिव कृष्णराज विसीले सन् २०१७ भित्र राष्ट्रलाई खुलादिसामुक्त घोषणा गर्न नसकेपनि अब दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) हुनु अघि नै खुला दिसामुक्त राष्ट्र बन्ने बताउनुभयो ।

सरकारले सरसफाइमा राखेको लक्ष्य समयमै पूरा गर्न स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरुसँग समन्वय गरेको बताउदै सचिव विसीले स्थानीय तहमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थालाई पनि सोही अनुसार निर्देशन दिएको बताउनुभयो ।

‘मैले सचिवको जिम्मेवारी सम्हालेको चार महिना भयो, यो अवधिमा मेरै हस्ताक्षरमा पत्र लेखी स्वास्थ्य, शिक्षा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरुलाई अनुरोध गर्ने देखि दाता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गर्ने र गोष्ठीको आयोजना गर्ने सम्मको काम गरें’ सचिव विसीले भन्नुभयो ।

सरकारले ८८ प्रतिशत नागरिकलाई आधारभूत स्तरको खानोपानी उपलब्ध गराएको र ९४.७४ प्रतिशत नागरिकको घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार