रसुवा : उहाँलाई थाहा थियो, त्यो ठाउँबाट खसेको भए चिम्टाले टिप्ने मासु पनि भेटिदैनथ्यो । तर त्यो ठाउँमा पाइप टाँग्न सके गाउँका ४७ घरपरिवारले सुरक्षित पानी पिउन पाउँथे । ‘दिन सकिएको रहेछ भने ठिकै छ, नत्र काम फत्ते गरेरै छोड्छु’ उहाँले हिम्मत गर्नुभयो र कम्मरमा डोरी बाँध्नुभयो । मोटरसाइकल चलाउन ठिक्क परेको चालक झैं हेलमेट लगाएर पाइप टाँग्न तयार हुनुभयो ।
गाउँभरिकै बासिन्दाका लागि पानी ल्याउन त्यत्ति ठूलो जोखिम मोल्ने व्यक्ति हुनुहुन्थ्यो उत्तरगया गाउँपालिका ३ का ५८ बर्षीय कृष्ण प्रसाद न्यौपाने ।

एउटा ३५० मिटर लामो खोल्सीमा सस्पेन्सन केबुलमा पाइप बेरेर तार्नु थियो । धेरै पटक धेरैले प्रयास पनि गरेका थिए । तर २५० मिटर जत्ति अगाडि बढेपछि पाइप डल्लो परेर बस्यो । सबै मिलेर कयौं पटक प्रयास गर्दा पनि नसकेपछि न्यौपाने लट्ठाको सहायताबाट जानुभयो र काम पनि फत्ते गर्नुभयो ।
‘म जान सक्छु भनेर गएँ, तल हेर्न सक्ने होइन, हेलिकप्टर बाट हेर्दा देखिने दृश्य झैं लाग्थ्यो’ त्यत्तिबेलाको पल सम्झिदैं कृष्णप्रसाद न्यौपाने भन्नुहुन्छ ‘त्यहाँबाट झरेको भए त तल झर्न नपाउँदै बीचैमा मरिसक्थें होला ? तर आज हामी सबैले पानी पिउन पाएका छौं, मेरा लागि यही खुसीको कुरा हो ।’
न्यौपानेलाई हालै जोखिमपूर्ण काम गरेबापत चौरखर्क खानेपानी उपभोक्ता समितिले नगद सहित सम्मान गरेको छ । खानेपानी आयोजनाको मर्मत सम्भार कोष हन्तान्तरण कार्यक्रममा समितिले उहाँलाई सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै उहाँले भन्नुभयो ‘मैले सम्मानका लागि गरेको काम होइन, म यही समाजको सदस्य र उपभोक्ता पनि भएकाले यो मेरो दायित्व हो । आफ्नो दायित्व पूरा गर्दा मलाई किन सम्मान गर्नुपथ्र्यो र ?’ ‘मेरो खुसी भन्नु नै अहिले हरेक घरघरमा पानी आइरहेको छ, हामीले उपभोग गरिरहेका छौं’ खुसीले गहभरि आँशु पार्दै उहाँले भन्नुभयो ।
भालुखोप, ओभानेखोला, गौथली मुहान गरी ३ वटा मूलको पानी ३ वटै इन्टेक मार्फत उत्तरगया गाउँपालिका ३ का ४७ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।
७ लाख ७६ हजार ८७१ रुपैयाँमा निर्माण सम्पन्न चौरखर्क खानेपानी आयोजनाका लागि DFID र ACF ले ७ लाख ५ हजार ८६१ रुपैयाँ अनुदान दिएका छन् भने उपभोक्ताले ७१ हजार १० रुपैयाँ बराबरको श्रमदान गरेका छन् । गाउँभन्दा १४ सय मिटर टाढा बाट ल्याएको खानेपानी २२ सय ४६ मिटर शाखा लाइन मार्फत घरघरमा वितरण गरिएको चौरखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवा प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


1311 पटक हेरिएको 

