मध्यरातको ब्लाष्टले मेलम्चीमा ब्रेक थ्रु

लिखिता बराल, सिन्धुपाल्चोक :

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको छ । मध्यरातमा गरिएको ब्लास्टले ८ हजार ३ सय मिटर लम्बाइको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको हो ।

अम्बाथानदेखि ग्याल्थुमसम्मको ब्रेक थ्रु भएपछि अब ५१५ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।

‘अब ग्याल्थुम – सिन्धुखण्डको ५१५ मिटर मात्र खन्न बाँकी छ, हामीले समयमै काम सम्पन्न गराउन दिन रात नभनी काम गरिरहेका छौं, अहिले पनि तीन सिफ्टमा काम भइरहेको छ’ सिनियर डिभिज्नल इन्जिनियर पन्तले भन्नुभयो ।

सिन्धु – सुन्दरीजल खण्डको १.४ किलोमिटर सुरुङ गत सन् २०१६ को २८ डिसेम्बरमा र इन्टेक देखि अम्बाथान सम्मको ८०५ मिटर सन् २०१७ को फेब्रुअरी १९ मै ब्रेक थ्रु  भइसकेको छ ।

 

 

सुरुङ निर्माणको गति घट्ने

अम्बाथानदेखि ग्याल्थुमसम्मको ब्रेक थ्रु भएसँगै सुरुङ निर्माणको गतिमा भने कमी आउने भएको छ । यसअघि चार ठाउँबाट सुरुङ खन्दा दैनिक १४ मिटरका दरले खनिदै आएकोमा अब दैनिक ६ मिटर मात्र खन्न सकिने सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।

‘यस अघि चार ठाउँमा काम भइ रहेको थियो, अब दुई ठाउँबाट मात्र काम हुने भएकाले नरम चट्टान नभेटिएमा दैनिक ६ मिटरका दरले खन्न सकिन्छ’ उहाँले भन्नुभयो । इन्जिनियर पन्तका अनुसार आजदेखि सिन्धुबाट माथितिर र ग्याल्थुमबाट तलतिर खन्दै ल्याइनेछ ।

साढे २७ किलोमिटर लामो सुरुङ खन्ने कामको सफलता नजिक पुगेको र तोकिएकै समयमा काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

पछिल्लो सम्झौता अनुसार सन् २०१८ मार्च २६ मा सुरुङ खनिसक्नुपर्नेछ । दैनिक ६ मिटरको दरले सुरुङ खन्दा बाँकी अवधिमा सुरुङ निर्माणको काम सम्पन्न हुने र ढलानको काम पनि सँगसँगै भइरहेको इन्जिनियर पन्तले जानकारी दिनुभयो ।

सरकारले काठमाडौका बासिन्दालाई नयाँ बर्ष २०७५ को उपहार स्वरुप मेलम्चीको खानेपानी घरघरमा वितरण गर्ने बताउँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार