रामेछाप : मन्थली नगरपालिका– ३ ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी झोलाभरि किताब सँगै खानेपानी पनि घरबाटै बोक्न बाध्य छन् । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थी घरबाटै खानेपानीको बन्दोबस्त मिलाएर जान बाध्य छन् ।
विद्यालयमा खानेपानी भएपछि विद्यालयले पनि खानेपानी अनिवार्य रूपमा लिएर आउन निर्देशन दिएको छ । विद्यालयमा खानेपानीको अभाव भएकाले विद्यार्थीकै हीतका लागि पानीको बन्दोबस्त आफै मिलाएर आउन भनेको प्रधानाध्यापक चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
निर्देशनपछि बालबालिकाले पेड बोतलमा पानी ल्याएर आउने गरेका छन् । गाउँमा नै पानी अभाव भएपछि विद्यालय आसपासका घरले पनि खानेपानी नदिएकाले बालबालिकाले घरैबाट ल्याएपछि पानी पिउन पाएका प्रधानाध्यापक केसीले बताउनुभयो ।

ठूलीमदौमा पुराना मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो । विगत ११ वर्षदेखि पानीको मूल सुक्दै गएको र नयाँ मूल नफुटेकाले पानीको संकट भएको अभिभावक मोहनबहादुर थापाले बताउनुभयो ।
भूकम्पले बाँकी रहेका मूल पनि सुकेको उहाँले बताउनुभयो । कालिकादेवी आधारभूत विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् ।
भूकम्पले ध्वस्त बनाएको कालिकादेवी आधारभूत विद्यालयको भवन अहिलेसम्म पनि बनेका छैनन् । शौचालय समेत भत्किएकाले सरसफाइमा पनि समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर केसीले बताउनुभयो ।
शौचालय समस्याका कारण पठनपाठन समेत प्रभावित भएको प्रधानाध्यापक केसीले बताउनुभयो ।


734 पटक हेरिएको 

