१८ महिनामा सक्नुपर्ने खानेपानी आयोजना ३ बर्षमा पनि ९० प्रतिशत मात्र

रुकुम : निर्माण शुरु भएको १८ महिना भित्र सम्पन्न गर्नुपर्ने मुसीकोट तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना ३ वर्षमा बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ ।

रुकुमको मुसिकोटमा एक घर, एक धाराको लक्ष्य सहित २०७१ फागुनमा कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लि.सुरुंगा झापाले खानेपानी आयोजना निर्माणको काम शुरु गरेको थियो ।

सम्झौता अनुसार, २०७३ भदौमा सम्पन्न गर्नुपर्ने भएपनि समय सकिएको डेढ वर्ष भइक्दा पनि करिब ९० प्रतिशत काम मात्र सकिएको मुसिकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्र केसीले जानकारी दिनुभयो ।

निर्माण गर्नुपर्ने ६ ओटा ड्याम मध्येमा ६ ओटै निर्माण भैसकेपनि इन्टेक निर्माण, तारवार, २ ठाउँमा फिल्टरको काम बाँकी रहेको अध्यक्ष केसीले बताउनुभयो । आयोजनाको भवन, मुख्य लाईनको पाईप विस्तार, घर घरमा पाईप विस्तारको काम भने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

निर्धारित समयमै काम सकिएर घर घरमा स्वच्छ पानी पाउँने आशामा बसेका मुसीकोटका बासिन्दा भने आक्रोशित बनेका छन् । आयोजनाका लागि आफ्नो भागमा परेको पैसा तिरेको लामो समय हुँदा पनि आयोजनाको काम सम्पन्न नभएपछि नगरका बासिन्दा आक्रोशित भएका हुन् ।

ठेकेदार कम्पनीको ढिला सुस्तिका कारण आयोजनाको काम सम्पन्न हुन नसकेको मुसीकोटका व्यवसायी धनवहादुर खड्काले बताउनुभयो । आयोजनाको म्याद पटक पटक थप्दा पनि कसैले चासो नदिएको उहाँले बताउनुभयो । पछिल्लो पटक थपिएको २ महिनाको म्याद माघ मसान्त सम्म रहेको र उक्त समयमा समेत आयोजनाको काम सम्पन्न हुनेमा आफूहरु विश्वस्त नरहेको नगरका बासिन्दा बताउँछन् ।

कुल १४ करोडको लागतमा निर्माणाधीन खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयको ७० प्रतिशत अनुदान र २५ प्रतिशत उपभोक्ताले ऋण लगानी गरेका छन् । पाँच प्रतिशत भने उपभोक्ताले श्रमदान गरेका छन् ।
आयोजनाबाट मुसिकोट नगरपालिकाको एक, दुई र छ नम्बर वडाका र चार नम्बर वडाका आंशिक गरी करिब १४ सय घरपरिवार लाभान्वित हुनेछन् ।

आयोजनाका लागि सदरमुकामका पाँच ओटा खानेपानी मुहानबाट पानी संकलन गरी ट्यांकीमा जम्मा गरेर घरघरमा पठाइनेछ । आयोजनाका ६ ओटा ड्यामको भण्डारण क्षमता करिब ७ लाख लिटर रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार