रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाका चौध सय घरपरिवारका लागि सुरक्षित खानेपानीको व्यवस्था हुने भएको छ । नगरपालिकाको वडा नम्बर एक, दुई, तीन र पाँचका बासिन्दाका लागि नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिले खानेपानीको व्यवस्था गर्न लागेको हो ।
साढे १४ करोडको लागतमा नेपाल सरकार तथा एशियाली विकास बैंकको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतमा आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।
आयोजनाको झण्डै ८८ प्रतिशत काम सम्पन्न भईसकेकाले अबको दुई महिना भित्रै मुसिकोट नगरपालिकाका चारवटै वडामा सुरक्षित खानेपानी वितरण गरिने मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष महेन्द्र केसीले बताउनुभयो ।
खानेपानीबाट सदरमुकाम भित्र पर्ने नगरपालिकाको खलंगा बजार, सल्ले, सेरीगाउँ, पिपलनेटा, रातामाटा, रावलबारा, सालघारी लगायतका बासिन्दा लाभान्वित हुनेछन् ।
सुरक्षित खानेपानी वितरणका लागि ६ वटा पानीपोखरी, साढे सात लाख लिटर दैनिक पानी भण्डारण गर्न सक्ने पानी ट्याङ्की तथा दुईवटा फिल्टर निर्माण समेत गरिएको छ ।
मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ५ वटा मुहानको पानी एकै ठाउँमा संकलन गर्ने गरी मुसिकोटको पानाखोला र घ्यूखोलामा पानीपोखरी निर्माण गरिएको समितिका अध्यक्ष केसीले बताउनुभयो ।


762 पटक हेरिएको 

