बडीमालिकामा एकैपटक पाँच वटा खानेपानी ट्याङ्की निर्माण हुँदै

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले एकैपटक पाँच वटा खानेपानीको ट्याङ्की निर्माण शुरु गरेको छ । नगरपालिकाको भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा गरी पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी ट्याङ्की निर्माणका लागि एक करोड एक लाख रुपैयाँ बजेट प्रथम नगरसभाबाट विनियोजन गरिएको छ । एक ट्याङ्की ५० घनमिटरको बनाउने गरी मार्तडी बृहत खानेपानी उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

खानेपानीको ट्याङ्की निर्माण सम्पन्न भई खानेपानी वितरण गर्न थालेपछि सदरमुकामका बासिन्दाले पहिलेजस्तो खानेपानी अभाव झेल्नु नपर्ने नगर प्रमुख बडुवालले जानकारी दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित हुन लागेको हो ।

मार्तडीको बृहत खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासिन्दा खानेपानी समस्या झेल्न बाध्य छन् । समयमै खानेपानी नआउने र आए पनि एक घण्टा भन्दा बढी नआउँदा खानेपानीको चरम अभाव भइरहेको छ ।

बडीमालिका नगरपालिकाले खानेपानी उपभोक्ता समितिलाई नगरमै राखी खानेपानी व्यवस्थित गर्न थालेको बडीमालिका नगरपालिकाको ८ नं वडा अध्यक्ष प्रकाश रावलले बताउनुभयो । उहाँले नगरपालिकामा निर्माणाधीन पाँच वटा ट्याङ्की निर्माण सम्पन्न भएपछि सदरमुकाम मार्तडीका बासिन्दा, सरकारी तथा गैरसरकारी संस्था, उद्योगी, व्यवसायी, व्यापारी, होटल व्यवसायीलाई सहजरुपमा खानेपानी उपलब्ध गराइने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार