धारामा पानी नआउँदा पानीजन्य रोगको जोखिम

मनिराज पाण्डे, कालिकोट : पलाँता गाउँपालिका ९ को चुलाकोट र लखनवाडामा खानेपानी अभाव भएको छ । सिचाई कुलो मर्मतको काम भईरहेकाले खानेपानी सेवा बन्द भएको हो ।

सिचाईका कुलो र खानेपानी आयोजनाको पाइप एकै ठाउँमा भएकाले सिंचाई कुलो मर्मत गर्दा खानेपानी सेवा पनि बन्द भएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो ।

टोलमा चार दिन देखि खानेपानी अभाव भएपछि नदीको पानी पिउन थालेका छन् । दाम्म्रीपुछर खानेपानी आयोजनाबाट पानी नआएपछि नदीको पानी पिउन बाध्य भएको हो ।

नदीको पानी दुषित हुने भएकाले उमालेर पिउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा भाइरल ज्वरोले थलिएका मानिसहरु धेरै भएकाले पानीजन्य रोगबाट बच्न पानी उमालेर मात्र खान सल्लाह दिएको स्वास्थ्यकर्मी किस्मता बमले बताउनुभयो ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले भने कुलो मर्मतको काम तत्काल सम्पन्न गरी खानेपानी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई निर्देशन दिएको बताउनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार