यसरी गरौं, खानेपानीको मुहान संरक्षण

 1131 पटक हेरिएको

रसुवा : मुहान नै प्रदुषित भयो भने उपभोक्ताले सुरक्षित पानी पिउन पाउने कल्पना पनि गर्न सकिन्न । त्यसैले सबैभन्दा पहिले मुहानबाटै पानीलाई सुरक्षित तवरले पठाउनुपर्छ । यसका लागि के गर्ने त ? तरिका सजिलो छ, मुहानको संरक्षण गर्ने ।

मुहान संरक्षण गर्ने काम त्यत्ति गाह्रो काम पनि होइन । तपाई हामी मध्ये धेरैले मुहान संरक्षणको काम पक्कै गरिरहेकै छौं । तर यहाँ रसुवाको कालिका गाउँपालिका ४ माथिल्लो रुप्सेपानी उपभोक्ता समितिले गरेको मुहान संरक्षणको उदाहरण दिदैछौं ।

समितिले खानेपानीको मुहानमा गाईवस्तु तथा बालबालिकाको प्रवेशलाई नियन्त्रण गरेको छ । बर्षामासमा आउने भल बाढी नियन्त्रण गर्न मुहानको चारैतिर कुलो खनेको छ भने यसको नियमित रेखदेखका लागि एक जना मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरेको छ ।

माथिल्लो रुप्सेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका मर्मत सम्भार कार्यकर्ता हेम प्रसाद पौडेलले भन्नुहुन्छ ‘पानीमा बोटविरुवाको पातपतिङ्गर नखस्ने गरी ढक्कनको व्यवस्था गरेको छ, उपभोक्तालाई जानकारी गराई समय समयमा इन्टेकको सरसफाइ र सक क्लोरिनेशन समेत गर्दै आएको छ ।’

उहाँका अनुसार पानीको मुहानलाई सुक्न नदिन मुहानको आसपासको विरुवा काट्न नदिने नियम बनाएको छ । यो नियम लागु भएपछि खानेपानी मुहान आसपासको विरुवा हुर्किन थालेका छन् भने मुहान आसपास जहिले पनि ओसिने भइरहेको छ ।

माथिल्लो रुप्सेपानी खानेपानीको मुहानमा गाईवस्तु तथा बालबालिका प्रवेश गर्न सकिने ठाउँ नभएकाले काँडेतारको आवश्यकता नभएको र अरु ठाउँका उपभोक्ताले भौगोलिक अवस्था हेरी काँडेतारको समेत बार लगाउन सकिने मर्मत सम्भार कार्यकर्ता पौडेल बताउनुहुन्छ ।

 

माथिल्लो रुप्सेपानीको घरघरै धारा

रसुवाको कालिका गाउँपालिका ४ माथिल्लो रुप्सेपानीमा घरघरै धारा निर्माण गरिएको छ । डिएफआइडी र एसिएफको १६ लाख ९५ हजार ५ सय रुपैयाँ अनुदान र समुदायको ७८ हजार ५ सय ४८ रुपैयाँ गरी १७ लाख ७४ हजार ४८ रुपैयाँ लागतमा घरघरै धारा निर्माण गरिएको हो ।

वस्ती भन्दा ११ सय ५५ मिटरको दुरीमा रहेको रुप्सेपानी मुहानबाट ३ हजार ४१ मिटर शाखा लाइन मार्फत माथिल्लो रुप्सेपानीको सतचालीसै घरमा धारा पु-याएको हो ।

घरघरै धारा पु-याउन रुप्सेपानी मुहानमा एउटा इन्टेक निर्माण गरी १६ घनमिटर र १४ घनमिटरका दुईवटा रिजर्भ्वायर मार्फत पानी वितरण गरिएको माथिल्लो रुप्सेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका मर्मत सम्भार कार्यकर्ता हेम प्रसाद पौडेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार