कास्की : पोखरा महानगरपालिकाले फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्ने मेसिन खरिद गरेको छ । निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र पोखरा लेखनाथ महानगरपालिकाको ९२ लाख गरी १ करोड ४२ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो ।
जलकुम्भी झार निकाल्ने मेसिन ल्याउने निर्णय भएको १० महिनापछि क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिनुभयो । २०७४ वैशाख १९ गते महानगरपालिकाले जलकुम्भी झार व्यवस्थापनका लागि मेसिन किन्ने निर्णय गरेको थियो ।
जलकुम्भी झार निकाल्ने मेसिनको आजै परिक्षण गरिएको महानगरपालिकाको ६ नं. वडाका सदस्य हरी पहारीले जानकारी दिनुभयो ।
फेवातालमा फैलिदै गएको जलकुम्भी झार सफाइ गर्न मानवीय प्रयासले मात्र सम्भव नभएपछि मेसिन खरिद गरिएको महानगरपालिकाकाले जनाएको छ । यसअघि फेवातालमा जलकुम्भी झार फैलिएपछि फेवा डुङगा ब्यवसायीले सरसफाइ अभियान सञ्चालन गरेका थिए ।
फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने र यसबाट कम्पोस्ट मल बनाउने योजना रहेको महानगरपालिकाले जनाएको छ ।
जलकुम्भी तालमा फैलिएपछि फेवाताल कुरुप हुनुका साथै तालमा सञ्चालन हुने डुङगालाई आवतजावत गर्न समेत अफ्ठ्यारो परेको फेवा डुङगा ब्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर परियारले बताउनुभयो ।
यसअघि फेवा डुङगा ब्यवसायी समितिले बेला बेलामा जलकुम्भी सफाइ अभियान सञ्चालन गर्दै आएको र अब मेसिन भित्रिएपछि ठूलो परिमाणमा सफाइ गर्न सजिलो हुने डुङगा व्यवसायी समितिका संस्थापक उपाध्यक्ष कृष्ण प्रसाद पहारीले जानकारी दिनुभयो ।