मकवानपुर : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आयोजनामा आजदेखि मकवानपुरको हेटौडामा कोष विकास समितिका सहयोगी संस्था (गैसस) हरुको प्रगति समीक्षा तथा सामाजिक जवाफदेहिता (जागरण कार्यक्रम) सम्बन्धी अभिमुखीकरण शुरु भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै कोष विकास समितिको कार्य समिति सदस्य तथा नीलकण्ठ नगरपालिका, धादिङका प्रमुख भीम ढुङ्गानाले खानेपानी र सरसफाइ जनताको नैसर्गिक अधिकारका रुपमा स्थापित भइसकेकाले यी सुविधाको सुनिश्चितताका लागि यस क्षेत्रमा कार्यरत संस्थाहरुलाई दत्तचित्त भएर अघि बढ्न अनुरोध गर्नुभयो ।
उहाँले संस्थाहरु, कर्मचारी वर्ग र जनप्रतिनिधिहरुले सार्वभौमसत्ता सम्पन्न जनताको सेवकका रुपमा काम गर्नु पर्ने बताउँदै चुनाव सम्पन्न भइसकेको वर्तमान अवस्थामा वाद र विचारभन्दा माथि उठेर खानेपानी सुविधा प्रवद्र्वन जस्तो सबैभन्दा धेरै पुण्य हुने कार्यमा अघि बढ्न आह्वान गर्नुभयो ।
सोही अवसरमा हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले वर्तमान अवस्थामा ग्रामीण र शहरी दुवै क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएको अवस्थामा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भूमिका अपरिहार्य बनेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले ग्रामीण भेगका वासिन्दालाई खानेपानी र सरसफाइ जस्तो आधारभूत सुविधाको प्रत्याभूतिका लागि कार्यरत कोष विकास समितिले आगामी दिनमा पनि यो कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिने कुरामा जोड दिनुभयो ।
२ बर्षभित्र ४९ लाख नेपालीलाई खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउने

कोष विकास समितिका कार्यकारी निर्देशक एवं उदघाटन कार्यक्रमका अध्यक्ष भूपेन्द्र अर्यालले विगत २२ वर्षदेखि समुदायमा कार्यरत कोष विकास समितिले हालसम्ममा २९ सय भन्दा बढी आयोजनाहरुबाट करिव २५ लाख नेपाली नागरिकलाई खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराएको बताउँदै आगामी सन् २०२० सम्ममा खानेपानीतर्फ १५ लाख र सरसफाइ कार्यक्रमतर्फ ९ लाख गरी झण्डै ४९ लाख नेपालीहरुलाई खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने बताउनु भयो ।
उहाँले कोष विकास समितिले उपभोक्तालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्दै आएको बताउँदै संघीय संरचना अनुरुपको यो कार्यपद्धतिले गर्दा नै आयोजना प्रति उपभोक्ताहरुको अपनत्व बढ्न गएको बताउनुभयो ।

कोष विकास समितिका ८० प्रतिशतभन्दा बढी आयोजनाहरु दिगो रुपले सञ्चालन भइरहेका छन् । कोष विकास समितिको ४२ वटा सहयोगी संस्थाका अध्यक्ष र खानेपानी तथा सरफाइ कार्यक्रमका टीम लिडडरहरु समेत गरी ८० जनाको सहभागिता रहेको यो कार्यक्रम तीन दिन सञ्चालन हुनेछ ।


834 पटक हेरिएको 

