काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले एसियाली विकास बैंकको ऋण सहयोगमा अर्को पानी प्रशोधन केन्द्रको निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि एउटा प्रशोधन केन्द्र निर्माण गरिसकेको आयोजनाले एसियाली विकास बैंकको १ अर्ब ३५ करोड रुपैयाँ ऋण सहयोगमा ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गर्नका लागि दैनिक १७ करोड लिटर पानी प्रशोधनका लागि एउटा प्रशोधन केन्द्र निर्माण भइसकेको र त्यत्ति नै क्षमताको अर्को प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको मेलम्ची खानेपानी विकास समितिका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
अब बन्ने पानी प्रशोधन केन्द्र सन् २०१८ को अन्तिम तिर निर्माण सम्पन्न भइसक्ने देवकोटाले जानकारी दिनुभयो । सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले प्रशोधन केन्द्र पनि चाँडोभन्दा चाँडो बनाइसक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रशोधन केन्द्र निर्माणका लागि अस्ट्रेलियाको भियटेक बेगार र भारतको प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग सरकारले ठेक्का सम्झौता गरेको थियो । उक्त ठेकेदार कम्पनीले संयुक्त रूपमा ४ अर्ब २० करोड रुपैयाँको ठेक्का पाएका थिए । सुरुङपछिको प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो ।
पहिलो पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेर परीक्षण समेत सफल भइसकेको छ । आयोजनाले मेलम्ची खोलाबाट १७ करोड लिटर पानी सुन्दरीजलमा ल्याएर प्रशोधन गरी वितरण गर्ने छ । दोस्रो चरणमा याङग्री र तेस्रोमा लार्के खोलाबाट १७/१७ करोड लिटर थप्ने लक्ष्य छ । त्यसपछि करिब ५२ करोड लिटर पानी उपत्यकामा काठमाडौमा ल्याइने र अहिले लार्के र याङग्री खोलाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पनि तयार भइरहेको आयोजनाले जनाएको छ ।


713 पटक हेरिएको 

