काठमाडौ : फोहोर उत्पादन नै नगरौं भन्दा पनि तरकारी तथा फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत भान्छामा केही न केही फोहोर उत्पादन भइहाल्छ । समयमै नगरपालिका वा फोहोर व्यवस्थापन गर्ने संस्थाको गाडी आए त गाडीमा पठाउने, गाडी नआए घरमै कुहिएर दुर्गन्ध फैलिन थाल्छ ।
न फोहोरको गन्ध फैलिने, न नगरपालिकालाई फोहोर बुझाइरहनुपर्ने । यसका लागि एउटै उपाय छ, इ एम (Effective Microorganisms) को प्रयोग गर्ने । इ एमको प्रयोगबाट जैविक अर्थात कुहिने फोहोरलाई मल बनाउने र कौसी खेती, करेसाबारी अथवा गमलामा रोपिएको फूलमा हालेर घरको फोहोर घरमै तह लगाउन सकिन्छ ।
इ एमको प्रयोग फोहोर कुहाउन मात्र होइन, बहुउपयोगी इ एम्, घरको फोहोर नष्ट गर्न, घरको कोठा, बाथरुम, चर्पी आदिमा पनि प्रयोग गर्न सकिन्छ । खेतको मल बनाउन, गाईबस्तुको मलको गन्ध हटाउन र ढलको दुर्गन्ध हटाउन समेत इ एम प्रयोग गर्न सकिन्छ ।
इ एमलाई प्रयोग गर्ने विधि

इ एम महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेडले उत्पादन तथा वितरण गर्दै आएको छ । सहकारी संस्थाकी सचिव निर्मला श्रेष्ठका अनुसार बहुउपयोगी इ एम लाई निम्न कामका लागि प्रयोग गर्न सकिन्छ ।
घरको फोहोर नष्ट गर्न
शुरुमा १ लिटर पानीमा १० मिलिलिटर इ एम राखे पछि घोल तयार हुन्छ । तयार पारिएको घोललाई फोहोरको सबै भागमा पर्ने गरी छर्कने र त्यसलाई छोपेर राख्ने । एक महिनापछि त्यो मल प्रयोग गर्न तयार हुन्छ ।
गाईवस्तुको गन्ध हटाउन
३ लिटर पानीमा १० मिलिलिटर इ एम राख्ने र गाईवस्तु बाँध्ने गोठको आसपास सबैतिर इ एमको घोललाई मिलाएर छर्कने, यसले दुर्गन्ध कम गर्छ ।
ढलको दुर्गन्ध हटाउन
१५० मिलिलिटर इएम हप्ताको १ देखि २ पटक सिधै ढलमा खन्याइदिने । यसले दुर्गन्ध नष्ट गर्छ ।
घरको कोठा, बाथरुम, चर्पी आदिमा प्रयोग गर्न
१ लिटर पानीमा २० मिलिलिटर इ एम राखेर घोल तयार गर्ने । तयार पारिएको घोललाई सबै ठाउँमा पर्ने गरी छर्कने ।
खेतमा प्रयोग गर्ने
१ रोपनी जग्गामा ५०० मिलिलिटर देखि २५०० मिलिलिटरसम्म इएम राखेर घोल तयार गर्ने । तयार पारिएको घोललाई सीधै खेतमा छर्किने ।
खेतको मल बनाउन
१ लिटर पानीमा १० मिलिलिटर राखेर घोल तयार पार्ने । मल र तयार पारेको घोललाई राम्ररी मिलाउने र छोपेर राख्ने । यसलाई एक महिनापछि प्रयोग गर्ने । उत्पादन बढाउँछ ।
बीउ बिजन भिजाएर रोप्न
१० लिटर पानीमा १० मिलिलिटर इएम घोल्ने । अनि बीउ तयार पारिएको घोलमा ५ देखि १० मिनेट भिजाएर राख्ने । यसरी नै तयार पारेको घोललाई हरेक ३ देखि ४ हप्ताको अन्तरमा बीउ बढ्ने समयमा छर्किने ।
इ एम के हो ?
यो जापानी प्रविधिबाट नेपालमै उत्पादित बहुउपयोगी तरल पदार्थ हो । प्रकृतिमा धेरै थरीका सुक्ष्म जीवाणुहरु पाइन्छन् । तिनै मध्येका उपयोगी सुक्ष्म जीवाणुहरुलाई प्राकृतिक तवरले मिश्रित गरी इ एम तयार पारिन्छ ।
इ एम ले सुक्ष्म जीवाणुलाई बढाएर गन्धलाई न्यूनीकरण गर्छ र फोहोरलाई कुहाउन सहयोग गर्छ । अनुकुल वातावरण पाए लगत्तै उपयोगी सुक्ष्म जीवाणुको संख्या बढ्दै जान्छ र विस्तारै माटोको उर्वराशक्ति पनि बढाउँछ ।


1339 पटक हेरिएको 

