सरसफाइमा अब्बल बन्दै जनसेवा आधारभूत विद्यालय

नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय गए पछि र खाजा खानु अघि साबुन पानीले हात धुन्छन् ।

 


नुवाकोटको वेलकोटगढी पाँचखलेमा रहेको जनसेवा आधारभूत विद्यालयमा पुग्न जो कोहीले यस्तै दृश्य देख्नसक्नुहुन्छ । २०४५ सालमा स्थापना भएको यस विद्यालयले अहिले आएर मात्र विद्यालय सरसफाइमा ध्यान दिएको होइन, सुरुवाती अवस्था देखि नै विद्यालयको सरसफाइ र शैक्षिक गुणस्तर प्रति शिक्षक शिक्षिकाहरु उत्तिकै संवेदनशील हुनुहुन्थ्यो ।

सुरुवाती दिनमा कुनै पनि संघ संस्थाले सहयोग नगरेकोे अवस्थामा पनि विद्यालयले चाउचाउको कार्टुनलाई डस्टबीनको रुपमा प्रयोग गरेर फोहोर व्यवस्थापन गर्न शुरु गरेको थियो । विद्यार्थीलाई नियमित सफा भएर आउन लगाउने, हरेक दिन प्रार्थनाको समयमा सरसफाइ सम्बन्धी प्रश्न सोधी प्रथम हुनेलाई पुरस्कार दिएर उत्प्रेरणा जगाउने जस्ता क्रियाकलाप विद्यालयको नियमित क्रियाकलाप भित्र पर्दथ्र्यो ।

दुईवटा शिशु कक्षा सहित ७ कक्षासम्म अध्ययन अध्यापन हुने यस विद्यालयमा ९ जना शिक्षक शिक्षिकाले १५३ जना विद्यार्थीलाई अध्ययन अध्यापन गराउँछन् ।

भूकम्प पछिको अवस्था

 

२०७२ साल वैशाख १२ गते गएको भूकम्पले जनसेवा आधारभूत विद्यालयको सबै भवन भत्किएर खुला आकाश मुनि पढाउनुपर्ने अवस्था सिर्जना गराईदियो ।

तथापि विद्यालयका प्रधानाध्यापक भरत प्रसाद नेपाल र सहायक प्रधानाध्यापक टीका बहादुर पुडासैनी सहित विद्यालय परिवारले विद्यालय भवन बनाउन देखि आवश्यक पूर्वाधार निर्माणका लागि जिल्ला शिक्षा कार्यालय लगायत अरु संघसंस्थासँग पनि सहकार्यको हात अघि बढाए ।

विद्यालयको आग्रह बमोजिम जिल्ला शिक्षा कार्यालय M Z & K Z Shaah foundation र रुडेक नेपाललले विद्यालय भवन बनाउन सहयोग उपलव्ध गरायो र विद्यालय सञ्चालनमा आयो ।

जनसेवा आधारभूत विद्यालय यसरी हुँदैछ सरसफाइमा नमुना

विद्यालय त सञ्चालनमा आयो तर विद्यालयमा पहिलो जस्तो सरसफाइका गतिविधिहरु अगाडि बढिसकेको थिएन । त्यही बेला UN HABITAT को सहयोगमा स्ट्याण्ड्स नेपाल/सूर्योदय सामाजिक क्लव, रुडेक नेपाल र जुनियर रेडक्रस सोसाइटीले सरसफाइका लागि विशेष अभियान शुरु ग-यो ।

रुडेक नेपालले वालमैत्री धारा र शौचालय निर्माणमा सहयोग ग-यो भने जुनियर रेडक्रस सोसाइटीले वाल क्लव गठन र परिचालनमा विशेष भूमिका निर्वाह ग-यो ।

सरकारको शून्य सहुलियतको अवधारणालाई अंगीकार गर्दै जिल्लालाई नै खुला दिसामुक्त घोषाणा गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको यु.एन्.ह्याविट्याटले यस विद्यालयमा पनि स्ट्याण्ड्स नेपाल÷सूर्योदय सामाजिक क्लव मार्फत वाल क्लव गठन/पुनर्गठन गरी परिचालन गर्न र विद्यालयलाई सरसफाइमा नमुना बनाउन विद्यालयबाट ४ हजार र संस्थाको तर्फबाट ४ हजार सहयोग गरीे सरसफाइ कोषको स्थापना गर्न सहयोग ग-यो ।

त्यसपछि शुरु भयो विद्यालयको हरेक कक्षा कोठामा डस्टबिन राख्ने व्यवस्था, शुद्ध पानी पिउनका लागि फिल्टर र विद्यालयको परिधिभित्र रुखका पात समेतको व्यवस्थापन गरी प्राङगणलाई पनि स्वच्छ राख्ने र शौचालय गए पछि र खाजा खानु अघि अनिवार्य साबुन पानीले हात धुने अभ्यास ।

विद्यालयलाई सरसफाइमा नमुना बनाएर देखाउन लागिपरेका विद्यालयका प्रधानाध्यापक तथा बाल क्लवका संरक्षक भरत प्रसाद नेपाल अहिले बच्चाहरुलाई आफ्नो अनुहार सफा छ या छैन हेर्न र नभए मुख धुन लगाउन विद्यालय बाहिर एउटा ऐना, कांइयो र हात पुछ्ने रुमालको व्यवस्था गर्ने तयारीमा हुनुहुन्छ ।

 

उहाँले सरसफाइमा विद्यार्थीको ध्यान आकर्षण गर्नकै निमित्त अफिस कोठामा वाल क्लवका पदाधिकारीको नामावली, हात धुने समय र तरिका लागायतका विभिन्न सरसफाइ सामग्री समेत टाँस्न लगाउनुभएको छ । हरेक दिन विद्यालयमा प्रार्थनाको समयमा सरसफाइ सम्बन्धी प्रश्न सोध्ने, साप्ताहिक रुपमा गरिने अतिरिक्त क्रियाकलापमा सरसफाइलाई प्राथमिकता दिई प्रतिस्पर्धा गराउने लगायतका क्रियाकलाप समेत गराइरहनुभएको छ ।

विद्यालय सरसफाइको चुनौती

विद्यालयलाई जति सरसफाइयुक्त बनाउन चाहे पनि विद्यालय आसपास सञ्चालनमा रहेका तीनवटा इट्टा भट्टा सरसफाइको चुनौतीको रुपमा उभिएको छ । इट्टा भट्टामा आउने मौसमी कामदारले सिङ्गो गाउँलाई नै सरसफाइमा चुनौती थपिएको सहायक प्रधानाध्यापक टीका बहादुर पुडासैनीले बताउनुभयो ।

‘विद्यालय आसपास इटा भट्टाका कामदारले खुलादिसा गरिदिंदा विद्यालयको वातावरण नै प्रदुषित हुन्छ, समस्याका निराकरणका लागि हामीले सम्बन्धित निकायलाई भनिरहेका छौं, तर अपेक्षित परिणाम आउन सकेको छैन’ सहायक प्रधानाध्यापक पुडासैनीले भन्नुभयो ।

विभिन्न चुनौतीका बाबजुद विद्यालयले सरसफाइको क्षेत्रमा गरिरहेको प्रयास प्रसंशानिय छ ।

मैत्रेयी शर्मा
जिल्ला संयोजक, नुवाकोट
UN HABITAT
GSF, PROGRAM


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार