काठमाडौ : काठमाडौ महानगरपालिका – ३१ मीनभवन स्थित आलोक नगरका महिलाले आफ्नो नगरलाई फोहोरमुक्त बनाएका छन् । आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइ गर्न थालेको ४५ औं हप्तामा आफ्नो नगरलाई फोहरमुक्त बनाएका हुन् ।
फोहोर व्यवस्थापनका लागि अहिले आलोक नगरका ठाउँ ठाउँमा डोको राखिएको छ । बटुवा तथा पसलेले पनि त्यही डोकोमा फोहोर हाल्छन् । डोकोमा जम्मा भएको फोहोर महानगरपालिकाको गाडीमा हालेर पठाउने गरिएको छ । फोहोर सफाइमा सक्रिय मातृशक्ति समूहलाई जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले ३० ‘डष्टबिन’ हस्तान्तरण गर्नुभयो । ‘डष्टविन’ हस्तान्तरण गर्दै मन्त्री पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।
‘अब सार्वजनिक स्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भए अनुसार कारबाही हुन्छ, राजधानी लगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ, प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन् । यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु’ उहाँले भन्नुभयो ।
सो अवसरमा सफाइ लगायत सामाजिक अभियान चलाइरहेको ‘दाह्री ग्याङ’, वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाही, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, आलोकनगर सफाइ अभियानकी प्रमिला पौडेल लगायतले गाउँ, टोल सफाइ गरे शहर एवं नगर सफा हुने बताउनुभयो ।


1187 पटक हेरिएको 

