काठमाडौ : धारामा डेढ महिनादेखि पानी नआएपछि काठमाडौको सुन्दरीजल क्षेत्रका महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् ।
काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत भएको सुन्दरीजल क्षेत्रकै धारामा माघदेखि नै पानी नआएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ को कार्यालय घेराउ गरेका हुन् ।
पानी नआएको बिषयमा खानेपानी कार्यालयमा पटक पटक खबर गर्दा पनि पानीको मुहान क्षेत्रमा खानेपानी नआएपछि घेराउ गर्न बाध्य हुनुपरेको पुष्पा पोखरेलले बताउनुभयो । “अन्तका मानिसले सुन्दरीजलमा त पानीको दुःख नहोला नि भन्छन्, तर यहीँका धारामा डेढ महिनादेखि पानी आएको छैन, प्रत्येक दिन ढुंगेधारामा पानी लिन जानुपर्छ, ढुंगेधारा थोरै भएकाले एक गाग्री पानीका लागि दैनिक तीन घण्टाको लाम बस्न बाध्य हुनुपरेको छ”, उहाँले भन्नुभयो ।
पानी प्रशोधन केन्द्र कार्यालय सुन्दरीजलले भने एक दिन बिराएर सुन्दरीजल क्षेत्रमा पानी वितरण गरिरहेको दाबी गरेको छ । वाग्मतीमा पानी सुके पनि मुहान क्षेत्रमा एक दिन नदिइए अर्को दिन पानी पठाउने गरिएको कार्यालय प्रमुख वसन्त पालले बताउनुभयो ।
“जनघनत्व कम भएका बेला दुई इञ्चको पाइपमा यस क्षेत्रमा पानी वितरण गरिएको थियो, अहिले घर बढेका छन्, पानी वितरण गर्ने पाइप बढाइएको छैन, कार्यालयले एक दिन बिराएर पानी वितरण गर्दा पनि सानो पाइपका कारण कतै पानी जाने र कतै नजाने समस्या छ”, उहाँले भन्नुभयो ।
सुन्दरीजल प्रशोधन केन्द्रमा हाल ४५ लाख लिटर पानी प्रशोधन गरी माथि देखि नै वितरण हुन्छ । दुई करोड ५५ लाख लिटर पानी भने सुन्दरीजलबाट महाँकालचौर ल्याई प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको स्रोतबाट हाल दैनिक तीन करोड लिटर पानी वितरण भइरहेको कार्यालय प्रमुख पालले जानकारी दिनुभयो । वर्षायाममा भने यहाँबाट दैनिक पाँच करोड लिटर पानी वितरण गरिन्छ ।
डेढ महिनादेखि मुहान क्षेत्रकै धारामा पानी नआएको समस्या लिएर आएपछि खानेपानी कार्यालयमै लगेर कार्यालय प्रमुखसँग छलफल गराइएको वडाध्यक्ष राम मानन्धरले बताउनुभयो ।
“सुन्दरीजल क्षेत्रको केही भागका धारामा गोकर्णमा ‘गेटभल्भ’ बन्द नगरी पानी आउँदैन, मुहान क्षेत्रमा २४ सै घण्टा पानी आउने गरी व्यवस्था गर्न खानेपानी कार्यालयमा माग गरिएको छ, मेलम्चीको पानी प्रशोधनका लागि पनि यही प्रशोधन केन्द्र निर्माण भएकाले मेलम्चीको पानी यहाँ पनि वितरणको व्यवस्था मिलाउन पत्राचार गरिएको छ”, उहाँले भन्नुभयो ।
मुहान क्षेत्रकै धारामा पानी नआए मेलम्चीको पानी आएपछि प्रशोधन केन्द्रबाट वितरणमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिँदै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका वडा नं २, ४, ५, ६, ७, ८ र ९ का धारामा पनि पानी आउँदैन । नगरपालिकाका नयाँपाटी, गोकर्ण, अत्तरखेल, बेसीगाउँ, जोरपाटी र नयाँबस्ती क्षेत्रमा पनि पानी नआएको दुई महिनाभन्दा बढी भएको स्थानीयवासीको गुनासो छ ।
नगर प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रका वडामा पानी आउने व्यवस्था नभए मेलम्चीको पानी रोक्न बाध्य हुनुपर्ने चेतावनी सरकारका सम्बन्धित निकायलाई दिइएको बताउनुभयो । वर्षौंअघिदेखि गरिएको अनुरोध कार्यान्वयन नभए पानी रोक्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उहाँको भनाइ छ ।


683 पटक हेरिएको 

