काठमाडौ : काठमाडौ फोहोर व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाले घरदैलो अभियान शुरु गरेको छ । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँगको सहकार्यमा घर घरमा गई फोहोर व्यवस्थापनका विषयमा अभियान शुरु गरेको हो ।
घरबाट निस्केको फोहोरलाई उपयुक्त स्थानमा मात्रै व्यवस्थापन गर्न अनुरोध गर्नु घरदैलो कार्यक्रमको मुख्य उद्देश्य रहेको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
अहिलेसम्म काठमाडौको टेकु, कालीमाटी, रविभवन, कलङ्की, कुलेश्वर, बल्खु, थापाथली, त्रिपुरेश्वर, बानेश्वर लगायतका ठाउँमा फोहोर व्यवस्थापनका बिषयमा जनचेतनात्मक कार्यक्रम सम्पन्न गरिसकेको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । कार्यक्रम आगामी चैत मसान्त सम्म सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
दैनिक चार टोली बनाएर बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा वातावरण विभागका पदाधिकारी, क्याम्पसका विद्यार्थी लगायत सहभागी हुने गरेको प्रमुख कुँवरले जानकारी दिनुभयो ।
जथाभावी फोहोर फाल्ने बानीमा परिवर्तन ल्याउन अभियानको थालनी गर्नुपरेको विभागले जनाएको छ । काठमाडौ महानगरपालिकाले सुरक्षाको दृष्टिकोणले जोखिम अवस्थानमा रहेका तारको व्यवस्थापन समेत गर्दै आएको छ ।
महानगरपालिकाले धुलो संकलन गर्ने, गैरकानूनी रूपले फोहोर फाल्नेलाई पक्राउ गरी जरीवाना गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार संकलन गरी व्यस्थित गर्ने काम नियमित रुपमा गरिरहेको छ । काठमाडौ महानगरपालिकामा मात्र कुहिने र नकुहिने गरी दैनिक ४०० टन फोहोर संकलन हुँदै आएको छ ।