फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १४ सेटेडीका बासिन्दाले फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग गर्न थालेका छन् । गड्यौलाले फोहोरलाई कुहाउने र गड्यौला मलको प्रयोगले उत्पादन पनि राम्रो दिने भएपछि फोहोरको व्यवस्थापन गर्न गड्यौलाको प्रयोग गर्न थालेका हुन् । गड्यौला मलको बिषयमा खासै जानकार नरहेका किसानलाई विभिन्न संघ संस्थाले तालिम दिएपछि गड्यौला मलको विषयमा थाहा पाएको सेटेडीका लक्ष्मी जोशीले बताउनुभयो । गड्यौला मलको प्रयोगले उत्पादन बृद्धि भएको भएको जोशीले बताउनुभयो ।

गाईवस्तुका लागि झै घाँस, स्याउला काटिरहनु पर्ने झन्झट पनि नहुने, खेर गएका पातपतिङ्गर, कपडा, कुहिने बस्तु गड्यौलालाई खान दिएर मज्जाले मल बनाउन सकिने उहाँको अनुभव छ । गड्यौला पालनबाट किसानले उत्पादन बढाएर मात्र होइन, गड्यौला बेचेर पनि आम्दानी लिन थालेका छन् । एउटा गड्यौलाको मूल्य २ देखि ३ रुपैयाँमा विक्री हुने धनलक्ष्मी रानाले बताउनुभयो । उहाँले गड्यौला विक्रीबाट मात्र एक बर्षमा ४० हजार आम्दानी हासिल गर्नुभएको छ । गड्यौला मल प्रयोग गर्न थाले पछि खेतीपाती तथा करेसाबारीमा कीरा र रोगको प्रकोप समेत कम भएको उहाँको अनुभव छ ।

बझाङको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले गड्यौला मलको विषयमा प्रशिक्षण दिएपछि जथपृथ्वी नगरपालिका १४ का बासिन्दा यसतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि बिकास कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका १४ सेटेडीका हरेक जसो घरले गड्यौला पालन गर्न थालेका छन् । सेटेडीमा ३५ घर परिवारको बसोबास छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार