फोहोरले भरिएको नालाले विपद निम्त्याउँदै

बाँके : नेपालगन्ज उपमहानगरपालिका –२ न्युरोड लाइनको दक्षिणतिरको मुख्य नाला फोहोरले भरिएपछि पानीको निकास अवरुद्ध भएको छ । बर्षातमा परेको पानीले पखालिए पनि नदेखिएको फोहोरले फेरि नाला भरिएको हो ।

 

फोहोरका कारण नालीमा आउने पानी थुनिएपछि सडकमा यत्रतत्र फोहोर पानी बग्न थालेका छन् । नाली नै फोहोरले भरिएपछि ठूलो बर्षा हूँदा पानी निकास हुन नपाएर विपद निम्तिन सक्ने न्यूरोड क्षेत्रका बासिन्दा बताउँछन् । ‘नालामा जानुपर्ने फोहोर पानी सडकमा बगेको छ, फोहोरले पूरै नाला भरिन लागेको छ, नगरपालिकाले कुनै चासो नै दिएको छैन’ न्यूरोड लाइनका अलिमिया अन्सारीले भन्नुभयो ।

उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले भने नाली सफाइका काम शुरु भइसकेको दाबी गर्नुभयो । ‘हामीले नाली सफाइमा कर्मचारी खटाएका छौं, नगरको भित्री नालाहरु सफाइको काम समेत योजनाबद्ध तरिकाले गर्नेछौं’ उहाँले भन्नुभयो ।
तर दैनिक फोहोर उठाउन नगरपालिकाले कर्मचारी खटाए पनि उनीहरूले मुख्य सडक छेउको फोहोर बाहेक अरु फोहोर उठाउन ध्यानै नदिएको न्यूरोड लाइनका बासिन्दाको गुनासो छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार