काठमाडौ : चन्द्रागिरी नगरपालिकामा रहेको महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले थप ३ हजार घरमा धारा जडान गर्ने भएको छ । समितिले सहलगानी खानेपानी आयोजनासँग ३२ करोड ६२ लाख ७२ हजार छयालीस रुपैँया लागतमा सेवा विस्तार गर्ने भएको हो ।
खानेपानी सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हालै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौका सिनियर डिभिज्नल इञ्जिनियर हरि प्रसाद तिमल्सिना र खानेपानी संस्थाका अध्यक्ष सूर्य नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।
उपभोक्ता समितिले सहलगानी आयोजना अन्र्तगत थप ३ हजार घरमा धारा जडान वितरण गर्नेछ जसका लागि आवश्यक पर्ने पानीको श्रोत पहिचान, पानी भण्डारण स्थल, पानी प्रशोधन केन्द्र लगायतका अत्याधुनिक संरचनाहरु निर्माण गरिने उपभोक्ता संस्थाका अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । अहिले समितिले २ हजार १ सय धारा मार्फत दैनिक १२८० घनमिटर पिउने पानी वितरण गरिरहेको छ ।
आयोजना निर्माण पश्चात चन्द्रागिरी नगरपालिको वडा नं. ५, ६, ७ का ५ हजार घरमा २४ सै घण्टा पानी वितरण गरिने र यस आयोजना सन् २०३८ सम्मका लागि डिजाइन गरिएको परामर्शदाता संस्था इटेकोका हरि ढकालले जानकारी दिनुभयो ।
सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराईका अनुसार सहलगानी आयोजना सञ्चालन गर्नका लागि ३० प्रतिशत रकम उपभोक्ता संस्था र ७० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्नुपर्छ । उक्त व्यवस्था अनुसार महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मात्र ९ करोड ७८ लाख ८१ हजार ६ सय १३ रुपैँया ८७ पैसा रुपैयाँ जुटाउनु पर्नेछ ।


882 पटक हेरिएको 

