काठमाडौ : पानी विषयको व्यवस्थापन र समस्या समाधान राजनीतिक तहबाट हुनुपर्नेमा जोड दिइएको छ । ‘पानी वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ र नेपालका राजनीतिक दलका प्रतिनिधिले छलफलमा पानीको विषयलाई राजनीतिक रुपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले पानीको समुचित व्यवस्थापन गर्न नसकेर बाढी, पहिरो, डुबान, खानेपानी तथा सिँचाइको अभाव सिर्जना हुन गएकाले यसको समुचित प्रयोग गर्न आवश्यक भएको बताउनुभयो ।
पूर्वऊर्जामन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममार्फत नेपालका जलविद्युत् निर्माणको कार्यक्रम थालनी गरिएको उल्लेख गर्दै भन्नुभयो, “ मेरा पालमा १० हजार मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाका लागि पनि नेपाली स्रोत जुटाउने प्रयास थालिएको हो, जलाशययुक्त विद्युत् आयोजनाको निर्माणबाट पानीको दिगो संरक्षण र उपयोग हुनेछ । फोहर वा खेर गएको पानीको मात्र हैन, पर्याप्त बिजुुली भएमा खोलाको पानी डाँडामा पु¥याएर पहाडलाई हराभरा बनाउन सकिन्छ । यसबाट बसाइँसराइँ रोक्न सकिने भएकाले पानीको पुनःप्रयोगबारे प्राविधिकले नयाँ ढंगले सोच्नुपर्छ ।”
नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालका हिमाल यसको दक्षिण भेगका नेपाल र भारतका झण्डै एक अर्ब मानिसको जीवनको आधारका रुपमा रहेकाले यसको संरक्षणमा विवेक पु-याउने नेता आवश्यक भएको बताउनुभयो । उहाँले कार्बन उत्सर्जनमा कुनै भूमिका नै नभएको नेपालले विश्वका अधिक कार्बन उत्सर्जन गर्ने भारत (१५ प्रतिशत), चीन (२५प्रतिशत) र अमेरिका (२१प्रतिशत) र युरोपेली मुलुकको उत्सर्जनले निम्त्याएको विश्वव्यापी तापका कारण पृथ्वीका तापक्रम बढेर हिउँ पग्लने र पानीको स्रोत सुक्ने जस्ता दुष्प्रभाव भोग्न परेको उल्लेख गर्दै पानीको स्रोत संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री गणेश साहले संसारका विभिन्न भागमा संकटको रुपमा देखा परेको स्वच्छ पानीको पर्याप्तताका लागि काम गर्न सक्ने अर्थात् पानीको समस्या समाधान गर्न सक्ने व्यक्ति नै नेताका रुपमा उदय हुने बताउनुभयो । सांसद रामकुमारी झाँक्रीले जनताको आवश्यकतानुसार पानी उपलब्ध गराउने प्रविधिको उपयोग गर्ने र जनताका मागलाई सम्बोधन गर्न सक्ने व्यक्ति नै आउँदा दिनमा नेताको रुपमा उदाउने र स्थापित हुने बताउनुभयो ।
विवेकशील साझा पार्टीका नेता किशोर थापाले संघीयतामा पानीको विषयलाई सम्बोधन गर्न सक्ने, छिमेकीसँग डुबान–तटबन्धका विषयमा कुरा गरेर नेपालीलाई बाढीपहिरो तथा डुबानबाट बचाउने, पानी र युवा उमेर समूहका नेपालीको व्यवस्थापन गर्न सक्ने व्यक्ति नेपालका नेताका रुपमा आज सम्म नजन्मिएको धारणा राख्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुनिलबाबु श्रेष्ठले स्मार्ट प्रविधिको उपयोग गरी पानीलाई व्यवस्थापन गर्न सकिने बताउँदै विश्वमा भएको नयाँ प्रविधिको आविष्कार, विकास र विस्तारबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने विचार राख्नुभयो ।


678 पटक हेरिएको 

