बिर्तामोड : आज विहानै बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई हातमा कुचो र मुखमा मास्क लगाएर सडकमा देखा पर्नुभयो उहाँसँगै थिए वडाका अन्य जनप्रतिनिधी र नगरपालिका कार्यालयका कर्मचारी । केहीबेरपछि कसैले फोहोर टिपे, कसैले एकै ठाउँमा थुपारे त कसैले संकलन गरी नगरलाई सफा पारे । बिर्तामोड नगरपालिकाको संयोजन तथा नगरभित्रका संघसंस्थाको सहकार्यमा युवाको समूहले सफाइ गर्नु एक दिन अगावै बजार सफा पारेका हुन् ।

सरसफाई कार्यक्रममा उपस्थित भएकाहरुले विभिन्न समूहमा बाँडिएर झण्डै २ घण्टासम्म सरसफाई गरे । जनप्रतिनिधिले नगर सरसफाइमा चासो नदिएको भन्दै युवाको एउटा समूहले हरेक शनिबार बिर्तामोड बजारको सफाइ गर्दै आएको छ ।
जनप्रतिनिधि सँगै सफाइ अभियानमा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी तथा कलेजका विद्यार्थीले समेत साथ दिएका थिए । नगरलाई फोहोरमुक्त बनाउन नगरपालिका आफैँ सरसफाइमा जुटेको बिर्तामोड नगरपालिकाका कर्मचारी मेघराज बास्तोलाले जानकारी दिनुभयो।

बिर्तामोडमा डम्पिङ साइटको व्यवस्थापन नहुँदा नगरको फोहोर संकलन गरी सडक किनार तथा जंगल आसपासमा फाल्ने गरिएको थियो । तर अब बिर्तामोड–७ मा डम्पिङ साइटको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । ‘नगर सरसफाइको यो अभियान अब निरन्तर चलिरहने र नगरभित्रको फोहोर दैनिक रुपमा डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिने बास्तोलाले जानकारी दिनुभयो ।


982 पटक हेरिएको 

