सोलुखुम्बु : राँगा र भैंसीको हड्डीले समेत मूल्य पाउन थालेपछि सोलुखुम्बुको नयाँ बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । नयाँबजारमा रहेको बधशालामा बध गरिएका राँगा तथा भैंसीको हड्डी एकै ठाउँमा थुपारेर राख्दा दुर्गन्ध फैलिएको हो ।

विगत बर्षहरुमा हड्डीको मूल्य नपाउँदा मानव वस्तीभन्दा टाढा विसर्जन गर्ने गरिएको थियो । हड्डीले मूल्य पाउन थालेपछि कसाईहरुले नै भए भरका हड्डी एकै ठाउँमा जम्मा गरेर राख्ने गरेका छन् । थुपारिएको हड्डी भुस्याहा कुकुरले बजारभरि ओसारेर यत्रतत्र छर्दा झनै दुर्गन्ध बढेको हो ।

हरेक मंगलबार, विहीबार र शुक्रबार गरी २० वटा भन्दा बढी राँगा तथा भैसी बध गर्दै आएको छ । राँगाको सिङ, खप्पर, नलीखुट्टा, करङ जस्ता विक्री नहुने हड्डीजन्य वस्तुहरु महिनौं थुपारेर राख्दा बजार क्षेत्रमा झ्याल नथुनी बस्नै नसक्ने नयाँ बजारकी होटल व्यवसायी ज्ञानु केसीले बताउनुभयो । बधशालाको दुर्गन्धका कारण ग्राहक समेत घटेको उहाँले बताउनुभयो ।
‘चर्को घाम लाग्दा घरभित्र पनि बसिनसक्नु हुन्छ, गन्धले गर्दा मानिसहरु बस्नै मान्दैनन्, बधशालाको दुर्गन्धले गर्दा व्यापार पनि घटेको छ’ उहाँले बताउनुभयो ।
सोलुखुम्बुमा थोरै मासु खपत हुने र महिनाभरि बध गरेको चौपायाको हड्डीले पनि एक ट्रक नभरिने भएकाले जम्मा गरिराख्नुपरेको कसाई बाबुराम मगरले बताउनुभयो । आफूले कड्डी निकासीका लागि निर्यातकर्तासँग कुराकानी गरिरहेको उहाँले बताउनुभयो ।
बजारबासी भने वडा कार्यालय तथा नगरपालिकाको कार्यालयले हड्डी व्यवस्थापनको उपाय अपनाउनुपर्ने बताउँछन् ।
हड्डी निर्यात गर्नु राम्रो काम भएपनि भण्डारण गर्ने तरिका राम्रो नभएको उनीहरु बताउँछन् । ‘हड्डी छाला निर्यात गरेर जिल्लामा रकम भित्र्याउनु राम्रो हो, तर यसको भण्डारण गर्ने तरिका पनि राम्रो हुनुपर्यो, नगन्हाउने उपायहरु अपनाउने, सही ठाउँमा भण्डारण गर्ने, मानववस्ती भन्दा टाढा लैजाने गर्यो भने पनि दुर्गन्ध काम हुन सक्छ’ जेरो प्वाइन्टकी डोल्मा तामाङले भन्नुभयो ।
बधशालामा बध गरिएका राँगा तथा भैसीको छाला र हड्डी बीरगन्ज पठाउने गरिएको छ ।

दुर्गन्धले टाउको दुख्ने, बान्ता हुने समस्या
बधशालाको दुर्गन्धले बजारबासीमा टाउको दुख्ने, बान्ता हुने समस्या देखिन थालेको छ । दुर्गन्धले अरुचि बढ्ने, टाउको दुख्ने, वान्ता हुने समस्या देखिन थालेको छ ।
‘मलाई यहाँ आएपछि खाना खानै मन लाग्दैन, टाउको दुख्छ र बान्ता हुन्छ, उता (लाप्चा) गएपछि फेरि यो समस्या आउदैन ।’ लाप्चाकी कमला तामाङले बताउनुभयो ।
दोर्पू स्थित धुलिखेल अस्पतालमा समेत टाउको दुख्ने, वाकवाकी लाग्ने, अरुचि हुने, बान्ता हुने विरामी आउने गरेको अस्पतालले जनाएको छ ।


892 पटक हेरिएको 

