नुवाकोट : तीन बर्ष अघि २०७२ वैशाखको भूकम्पले बस्ने बास र खानेपानी सुविधा समेत विच्छेद भएपछि नुवाकोटको डाँडागाउँका बासिन्दालाई लागेको थियो, सुखका दिन गए अब ।
भूकम्पअघि गाउँमा भएका ४ वटा सामूहिक धारा समेत भत्किएपछि डाँडागाउँका बासिन्दाले डोकोमा विराती र चिसापानी मुहानबाट २/३ घण्टा लगाएर खानेपानी खाँदै आएका थिए ।
तर अहिले भूकम्पले तहसनहस पारेको डाँडागाउँ बलामी गाउँका बासिन्दा आफ्नै आँगनमा पानी पाएर दङ्ग भएका छन् । सबै मिलेर घरघरै धारा ल्याएपछि डोकोमा पानी बोक्ने बाध्यता हटेको हो ।
पहिला बिहानभरि डोकोमा बोकेर पानी ल्याएर खानुुपथ्र्याे,’ ककनी गाउँपालिका १ डाँडागाउँकी ४० वर्षीया शान्ति बलामीले भन्नुभयो ‘अहिले आँगनमा पानी आयो, घरमै पानी भएपछि अर्को काम गर्न भ्याइएको छ । ‘अहिले गाउँनजिक दुईवटा पानी जम्मा गर्न ट्यांकी बनाइएको छ । साँझ र बिहान दुई पटक गाउँलेलाई पानी वितरण गर्दै आएको छ । पानीका लागि मुहान र खोलामा धाउनु बाहेक कुनै विकल्प नभएपछि स्थानीय र संघसंस्थालाई गुहारेर खानेपानी ल्याएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण बलामीले बताउनुभयो । ‘गाई, भैंसी र बाख्रालाई खुवाउने पानी गाउँमा पुग्दैनथ्यो,’ देवनारायण बलामीले भन्नुभयो ‘पानी लिन खोलामै जानु पथ्र्याे ।’
उपभोक्ता समितिले प्रत्येक घरमा खानेपानीको मिटर जडान गरेको छ । ‘मिटर अनुसार पानी भर्छ,’ उहाँले भन्नुभयो ‘त्यसो गर्दा उपभोक्ताले पानी बढी खर्च गर्दैनन्’ खानेपानीबाट ५८ घरपरिवार लाभान्वित भएका छन् ।


685 पटक हेरिएको 

