दाङ : दाङका एक चौथाइ नागरिक अझै पनि खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार दाङका २५ प्रतिशत जनता खानेपानीको सहज सुविधाबाट वञ्चित छन् । उनीहरू खोला, जरुवा, इनार तथा छिमेकीको पानी प्रयोग गरेर आवश्यक्ता पूरा गर्दै आएका छन् । गर्मी मौसम लागेसँगै भने यो संख्या वृद्धि हुने गरेको कार्यालयका प्रमुख तिलक न्यौपानेले जानकारी दिए ।
गर्मी मौसममा हुने खडेरीसँगै पानीको मूल सुक्ने भएकाले लामो दूरी पार गरी पानी ल्याउनुपर्ने बाध्यता रहेको न्यौपानेले जानकारी दिए । कार्यालयले २ वर्षअघि निकालेको तथ्यांकअनुसार जिल्लामा पाइप प्रणालीबाट ५४ प्रतिशत, ट्युबबेल र ह्यान्ड पम्पबाट १६ प्रतिशत र इनार तथा कुवाबाट ३ प्रतिशत नागरिकले पानीको आपूर्ति गर्दै आएका खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
पहाडमा मुख्य समस्या
कार्यालयका प्रमुख न्यौपानेका अनुसार जिल्लामा खासगरी पहाडी भेकमा खानेपानीको बढी समस्या छ । बंगलाचुली गाउँपालिका, पश्चिमको बबई गाउँपालिका, शान्तिनगर र राप्ती गाउँपालिकाका पहाडी गाउँमा सहज खानेपानीको समस्या छ । सुक्खा मौसम सुरु भएसँगै त्यहाँका नागरिकले डेढ दुई घन्टाको दूरी पार गरी पानी खानुपर्ने बाध्यता भएको न्यौपानेले जानकारी दिए ।
‘जिल्लाको पहाडी इलाका तथा अग्लो भू–भागमा खानेपानीको समस्या छ । अग्ला ठाउँहरूमा विशेषगरी पानीको समस्या रहेको छ ।’ पहाडी क्षेत्रमा खानेपानीको समस्या हल गर्न ठूलो लगानीका बृहत् खानेपानी योजना आवश्यक पर्ने न्यौपानेले बताए । जसअन्तर्गत घोराहीको तुलसीपुरको पातु खोला, घोराहीको कटुवा खोला र ग्वारखोलामा सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
खानेपानीको अभावलाई पूर्ति गर्न बबईको पानीलाई लिफ्ट गरी संकटग्रस्त क्षेत्रमा पु-याउन सकिने र राप्ती नदीको पानीलाई लिफ्टको माध्यमबाट अभाव भएको क्षेत्रमा पु-याउन सकिने सम्भावना रहेको न्यौपानेले बताए ।
खानेपानी आयोजना निर्माणाधीन
जिल्लाका नागरिकलाई खानेपानीमा सहज पहुँचका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले जनाएको छ । तर, ती योजना समयमा सम्पन्न हुन सकेका छैनन् । कतिपय योजनाको काम जारी गरेको र कतिपय योजनाका लागि बजेट निकासा नभएकाले अधुरै काम छोडिएको कार्यालयले जानकारी दिएको छ ।
कार्यान्वयनमा ल्याइएका ठूला खानेपानी आयोजनामध्ये तराई–मधेस खानेपानी सुधार कार्यक्रम, उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी कार्यक्रम, गुणस्तर सुधार खानेपानी आयोजनालगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यी करोडाैँ रुपयाँ लगानी भएका योजनाहरू जिल्लाका विभिन्न ठाउँ तथा गाउँहरूमा सञ्चालन भएको खानेपानी कार्यालयको भनाइ छ ।


727 पटक हेरिएको 

