मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. – १० चराप गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको छ । एक्सनवक्र्स नेपाल मुगुको आर्थिक सहयोग र छायाँनाथ रारा नगरपालिकाको महिला तथा बालबालिका कार्यालयको समन्वयमा चराप गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको १० नं वडाका वडा अध्यक्ष धर्मदत्त साउदले जानकारी दिनुभयो ।
चराप गाउँमा ६१ घरपरिवारको बसोबास रहेको छ । अब चरापगाउँका कुनै पनि छोरी बुहारी महिनागवारी हुँदा छाउगोठमा बस्न पाउने छैनन् ।
महिनावारीको समयमा छाउगोठमा बस्दा महिलाहरू विभिन्न कारणले असुरक्षित हुने गरेको नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले बताउनुभयो । नगरभित्र हुने जुनसुकै प्रकारका हिंसाजन्य कार्यलाई रोक्न नगरले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
‘आफ्नो पालामा महिनावरी हुँदा ७ दिन र सुत्केरी हुँदा ३० दिन गोठमै बस्नुपर्ने बाध्यता थियो’, ६ सन्तानकी आमा होइजाली ऐडीले भन्नुभयो ‘मैले ५ बच्चा गोठमा र एक बच्चा अस्पतालमा जन्माए’, २२ वर्षको उमेरमा मेरो देउरानी गोठमै सुत्केरी भइन् । सुत्केरीमा आमा र नवजात छोराको गोठमै केही वर्ष अगाडि ज्यान गयो ।’
छाउगोठमुक्त घोषणा भएपछि अब अकालमा महिला तथा नवजात शिशुले ज्यान गुमाउनु नपर्ने उहाँले बताउनुभयो । ऐडीका अनुसार देवीरदेवताको डरले महिनावारी हुँदा ७ दिनसम्म गोठमै बस्नुपर्ने बाध्यता थियो ।