काठमाडौ : वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानमा अहिलेसम्म पाँच लाख भन्दा बढी मानिस सहभागी भएका छन् । अहिले सम्मको सफाइ अभियानबाट २० हजार मेट्रिक टन भन्दा बढी फोहोर व्यवस्थापन गरिएको छ ।
फोहोरको परिमाण काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारी साधनले उठाउँदा मापन गरिएको आधारमा तथ्यांक निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । वाग्मती सफाइ महाअभियानले २६६ हप्ता पार गरिसकेको छ । वि.सं. २०७० जेठ ५ गते देखि वाग्मती सफाइ महाभियान शुरु भएको हो ।
काठमाडौ उपत्यकाका नदी तथा सडकबाट ३३ मेट्रिक टन फोहोर निकालियो
काठमाडौ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २६६ औँ हप्तामा शान्तिनगर स्थित भिएस निकेतन अघिको नदी क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन, गोकर्णेश्वर नगरपालिका–१ र कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित वाग्मती पुलमुनिको नदी किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
यस्तै रातोपुल–रुद्रनगर–बत्तीसपुलती–राम मन्दिरसम्मको क्षेत्रमा सफाइबाट एक मेट्रिक टन टोखा नगरपालिकाको सिद्धेश्वरदेखि नयाँबसपार्क क्षेत्रसम्मको सफाइबाट चार मेट्रिक टन वाग्मतीको तिलगंगा क्षेत्र सफाइबाट एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।
सुन्दरीघाटस्थित वाग्मती नदी किनार सफाइको ७६ औँ हप्तामा ल्याबोरेटरी विद्यालयबाट इण्डियन मोर्डन विद्यालय अघिको नदी किनारसम्म सफाइ गरी दुई मेट्रिक टन, काठमाडौँ महानगरपालिका–३२ स्थित बिपी नेत्र अध्ययन केन्द्र अघिको नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन, चक्रपथ सफाइको बालाजुचोकबाट वनस्थलीसम्मको सफाइबाट १५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।
चक्रपथ बाफलखण्ड सफाइको ४४ औँ हप्तामा सीतापाइला चोकबाट स्युचाटारपुल क्षेत्र सम्म सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।