धनगढी : सेती अञ्चल अस्पतालअगाडि मूल सडकको नाली २० वर्षपछि सफा गरिएको छ । निर्माण भएयता उक्त नालीको पूर्ण सफाइ भएको थिएन । केही दिनदेखि धनगढी उप–महानगरपालिकाले बजार क्षेत्रको मुख्य सडक नालीको सरसफाइ सुरु गरेको हो ।
बर्सेनि गर्नुपर्ने नाली सफाइ वर्षौसम्म नहुँदा दुर्गन्धित र सडक डुबानसमेत हुने गरेको थियो । ‘नगरपालिकाले वर्षौंपछि पूरै नाली सफा गर्न थालेको देखेँ’ अस्पताल अगाडिको बजार लाइनमा लामो समयदेखि व्यवसाय गर्दै आएका लोकराज पनेरुले भने, ‘नालीको पूर्ण सफाइ भएपछि दुर्गन्ध हट्छ र सडक डुबान पनि कम होला ।’
नालीमा फोहर, लेदो, इँटा तथा ढुंगाहरू भरिँदा वर्षादको समयमा सडकमा पानी भरिने समस्या रहँदै आएको छ । उपमहानगरपालिकाका अनुसार निर्माण भएयता नालीको मर्मतसमेत भएको छैन ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘नाली सफा भएपछि अस्पताल अगाडिको सडकमा पानी जमेर थप दुर्गन्धित हुने समस्या घट्नेछ । सेती अञ्चल अस्पतालको फोहोर यही नालीमा मिसिने गरेको छ ।’ उपमहानगरले एक सातादेखि नाली सफा गर्न कामदार खटाएको छ । हालसम्म ७ सय मिटरभन्दा बढी नाली सफा गरिएको कार्यालयले जनाएको छ । मोहना– अत्तरिया सडक खण्डलाई ६ लेनमा विस्तार गरे जस्तै धनगढी बजार क्षेत्रको मुख्य सडकलाई समेत विस्तार गर्ने प्रकृया कार्यान्वयन हुने क्रममा छ । बजार क्षेत्रको सडक विस्तारको काम सुरु नहुँदासम्म अहिलेकै नालीहरू सरसफाई गरेर प्रदुषण तथा डुवान घटाउने कार्यक्रम बनाएको उप–महानगरपालिकाका प्रमुख वड बताउँछन् ।
यस्तै, धनगढी उप–महानगरपालीकाले डुवान तथा अतिक्रमण घटाउन धनगढी बजार क्षेत्रका खोलानालाहरूमा डोजर लगाएर सफाई गरिरहेको छ । खोलानाला अतिक्रमण हुँदा वर्षादको समयमा धनगढीका विभिन्न क्षेत्र डुवानमा पर्दै आएको छ ।
यसैबीच उपमहानगर अन्तर्गतको मुख्य बजार क्षेत्रमा सडकको चौडाई विस्तारगर्ने परियोजना कार्यान्वयन चरणमा छ । उक्त परियोजना कार्यान्वयनगर्ने क्रममा मुख्य बजार क्षेत्रमा धेरैजसो घरहरू भत्काउनुपर्ने अवस्था रहेको उपमहानगरले जनाएको छ । त्यसक्रममा निजी स्वामित्वका घर आफैं भत्काउन प्रेरित गर्ने योजना उपमहानगर प्रशासनले अघि सारेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
‘सडक क्षेत्र ओगटेका घर आफैं भत्काउने घर मालिकलाई सम्मान गर्ने योजना बनाएका छौं’ उपमहानगरका प्रमुख वडले भने, ‘जबर्जस्ती गरे हामी आफैं गएर डोजर चलाउनुभन्दा घरधनी आफैंले घर भत्काए उनीहरूलाई उपमहानगरले सम्मान गर्नेछ ।’ वर्षादपछि मुख्य बजार क्षेत्रमा सडक चौडागर्ने परियोजना कार्यान्वयन सुरु हुँदैछ ।
धनगढीको मोहना–अत्तरिया खण्डमा ६ लेन सडक विस्तारका क्रममा कतिपय घरधनीहरूले सडक क्षेत्र ओगटेर निर्माण गरेका घर संरचना हटाउन नमान्दा आयोजना नै सुरु हुन ढिलाई भएको थियो । चौराहाका केही घर धनीहरूले घर भत्काउन नहुने अडान गरेपछि अदालतसम्म मुद्दा पुगेको थियो । कतिपय घर भत्काउन डोजर लिएर उपमहानगरका प्रमुखसहितका पदाधिकारी आफै सक्रिय भएका थिए ।
मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा सडक क्षेत्रमापर्ने नीजि स्वामित्वका भौतिक संरचनाहरू घरधनी आफैले भत्काएर खाली गरेमा उपमहानगरको कार्यालयले उक्त घरधनीको घर नक्सापास शुल्क तथा एकीकृत सम्पत्ति कर मिनाहा गर्ने निर्णय गरेको छ ।
यस्तै ती घरधनीको घरमा सडकतर्फको मोहडामा रंगरोगनसमेत उपमहानगरले नै गर्ने जनाएको छ । धनगढीमा चक्रपथ निर्माणको योजना स्वीकृत भएर कार्यान्वयनको चरणमा छ । बजार क्षेत्रमा सडक विस्तार गर्ने क्रममा थुप्रै निजी संरचना सडक क्षेत्रमापर्ने उप महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी बताउँछन् ।
उपमहानगरले बजार क्षेत्रमा कार्यान्वयगर्न लागेको योजना लगायत विकास निर्माणका बिषयमा प्रदेश सरकारसंग छलफल गरेको छ । मुख्य मन्त्री त्रिलोचन भट्टसँग उपमहानगर प्रमुख वडले छलफल गरेका हुन् । उनीहरू दुबैबीच प्रदेश ७ को अस्थायी राजधानीसमेत रहेको धनगढीको भौतिक पूर्वाधार विकास, फोहर व्यवस्थापन लगायतमा बिषयमा छलफल भएको प्रवक्ता मुडभरीले बताए ।