खोला सफाइ नगर्दा हल्का पानी पर्दा पनि वस्तीमा डुबान

इटहरी : खोला सफाइ नगर्दा हल्का बर्षा हुँदा पनि बाढी आएर बस्ती डुबानमा पर्ने गरेको छ । सुनसरीको इटहरी क्षेत्र भएर बग्ने टेग्रां खोलामा सानो बर्षा हुना साथ बाढी आउने र बस्ती डुबानमा पर्ने गरेको स्थानीय बासिन्दा गुनासो गर्छन् । हरेक बर्षायाममा इटहरी ९ र १० नम्वर वडा डुवानमा पर्ने गरेको गोपाल बूढाथोकीले बताउनुभयो ।

खोलामा थुपार्ने फोहोरमैला, खोलाको अतिक्रमण लगायत कारणले पानीको बहाव रोक्ने र बाढीमा परिणत भई खोला वस्तीमा पसेर डुबान हुने गरेको उहाँले बताउनुभयो ।

‘खोला आसपासको क्षेत्र अतिक्रमण बढेसंगै खोला साँघुरो वन्दै गएको छ, खोलामा विभिन्न किसिमका फोहोर थुप्रिदा खोलाले आफ्नो गतिमा बग्न नपाएर बस्तीमा पस्न थालेको हो’ बूढाथोकी भन्नुहुन्छ ‘हामीले थाहा पाउँदा सम्म यस्ता थिएन, तर विगत १५ बर्ष यता बर्षायामको समयमा टेग्रां खोला आसपासको क्षेत्रमा बाढी नपसेको साल नै हुँदैन ।’

वर्षायाम लाग्नु भन्दा अगाडि नै खोलाको पानी निकास खोल्ने र फोहोरमैला सफाइ गर्ने हो भने डुबानको समस्या झेल्नुनपर्ने स्थानीय बासिन्दाको सुझाव छ । टेग्रां खोलाको बहावलाई सीमित पारेर ह्यूम पाइपबाट बग्ने बनाइएका कारण पनि खोलाले बाढी निम्त्याएको उनीहरुको भनाई छ ।

ट्रान्र्सपोर्ट लाइन देखि खनार सम्मको वस्तीमा हरेक बर्ष टेग्रां खोला पसेर क्षति पुर्याउँदै आएको छ । खोलाले बस्ती सखाप पार्दा समेत पानी निकासको व्यवस्था मिलाउन कोही नतातिएको स्थानीय बासिन्दाको गुनासो छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार