खानेपानी नहुँदा ३८ घरपरिवारले गाउँ छाडे

रामेछाप : जीवनभर बसौंला, सुखदुःख काटौंला भनेर ऋणधन गरेर बनाएको घरमा ताला झुण्डिएको छ । मानिस विनाको घर उराठलाग्दो छ । गाउँभरिमा कसैसँग बोल्ने बोलाउने मान्छे पनि भेटिदैनन् ।

एक घर होइन, दुई घर होइन, ३८ घरको बसोबास रहेको रामेछापको मन्थली नगरपालिका वडा नं.– ७ पहरेपानी, पोखरी र टुनिबोटेमा अहिले घरहरु मात्र छन् । घरमा ताला लगाएर भटौली खोला किनारमा टहरा बनाएर बस्न थालेपछि गाउँ सुनसान भएको हो ।

घर छाडेर खोलाको किनारमा गएर बस्नुको एउटै कारण हो, खानेपानी अभाव । एक ग्रागी पानीका लागि दिनै माया मार्दा पनि पर्याप्त पानी नपाएपछि उनीहरुले गाउँ छाडेका हुन् ।

खानेपानीको अभावमा पहरेपानी, पोखरी र टुनिबोटका ९० घरमध्ये ३८ घरले गाउँ छाडिसकेको शिवबहादुर कार्कीले बताउनुभयो ।

‘खानेपानीको मुल सुकेपछि धमाधम गाउँ छाड्ने क्रममा छन्, खानेपानीको चरम अभाव व्यहोर्दै आएका त्यस गाउँका अन्य घरपरिवार पनि गाउँ छाडेर बाँकी रहेकाहरु पनि आज भोलि नै जाने अवस्थामा छन् । बसाई जाँदा पनि कहाँ जाने भन्ने चिन्ताले धेरै सताउन थालेको छ’ कार्कीले भन्नुभयो ।

खोला किनारको बसाई कहालीलाग्दो

गाउँ छाडेर भटौली खोला किनारमा टहरा बस्दै आएका उनीहरुको जिन्दगी यहाँ पनि कहालीलाग्दो छ । वर्षातको भेलले बगाउने हो कि भन्ने चिन्ताले रातभर सताउने गरेको छत्रबहादुर मगरातीले बताउनुभयो । सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बसेका उनीहरुलाई नगरपालिकाले हटाइदिए कहाँ जाने भन्ने अर्को चिन्ता पनि छ ।

‘अन्त जाउँ, जाने कतै ठाउँ छैन । जग्गा जमिन किनौँ पैसा छैन । कसैले तिमीहरुले दुःख पायौ भनेर जग्गा दिँदैनन् । गरिब त बाँच्न नै गाह्रो हुने भयो ।’ मगरातीे भन्नुभयो ।

खानेपानीको समस्या रहेको बस्तीका लागि बृहत्त खानेपानी योजना मार्फत पानी आपूर्ति गर्ने वडा कार्यालको योजना भए पनि यो तत्कालका लागि सम्भव नभएको वडा नं. ७ का वडाध्यक्ष सुदर्शन प्रसाईले बताउनुभयो । पानी अभाव रहेको बस्तीमा खानेपानी पुर्याउनको लागि खानेपानी डिभिजन कार्यालय सँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार