हिमालको काखमा लामखुट्टेको अविराम संगीत

सोलुखुम्बु : अघिल्तिर हिउँले ढाकिएको सेताम्मे नुम्बुर हिमाल, काखमा फाप्लुदेखि दोर्पूबजार सम्म लमतन्न परेको बजार क्षेत्र । त्यही बजार क्षेत्रमा पूँयुयु गर्दै लामखुट्टेले अविराम संगीत छरिरहेको हुन्छ ।

बाह्रै महिना चिसो मौसम रहने सल्लेरी, फाप्लु या त नयाँ बजार तथा दोर्पूबजारमा यस भन्दा अगाडि लामखुट्टे देख्न पाइदैनथ्यो । तराई नझरेका र काठमाडौ नपुगेका मानिसहरुको प्रश्न हुन्थ्यो ‘लामखुट्टे कस्तो हुन्छ ?’

लामखुट्टे कस्तो हुन्छ ? भनेर प्रश्न गर्नेहरु नै अहिले लामखुट्टेले टोकेर आजित भएका छन् । सल्लेरी तथा फाप्लुमा आक्कलझुक्कल देखिने लामखुट्टे नयाँ बजारक्षेत्रमा भने फैलिन थालेको छ ।

तराई तथा काठमाडौ आवातजावत गर्ने गाडीका कारण लामखुट्टे फैलिएको हुनसक्ने स्थानीय बासिन्दा बताउँछन् । गाडीको चापचेपमा बसेर बाँच्न थालेको र सोलुकै वातावरणसँग समायोजन गर्न थालेपछि लामखुट्टेले प्रजनन गर्न थालेको उनीहरु बताउँछन् ।

‘गाडी भित्र न्यानो हुन्छ, त्यही न्यानो समयमा आएका लामखुट्टे यहाँको तापक्रम उच्च भएको बेला आइपुगेपछि यही बाँच्न थालेको हो, पहिले पहिलेको तुलनामा यहाँको मौसम पनि अलि न्यानो भइरहेको छ । यो मौसम लामखुट्टेका लागि अनुकुल समय पनि भएकाले लामखुट्टे फैलिन थालेको हो’ साकुरा होटल जेरो पोइन्टका लक्ष्मण श्रेष्ठले भन्नुभयो ।

नयाँ बजार क्षेत्र आसपासमा बढेको फोहोर र फोहोर पानी जमेको खाल्डोका कारण लामखुट्टे फैलिएको नयाँ बजारका उर्मिला तामाङले बताउनुभयो ।
बजार क्षेत्रमा बढेको मानवीय चाप र अव्यवस्थित पार्किङ तथा बढ्दो फोहोरले नयाँ बजार तथा जेरो पोइन्ट क्षेत्रको वातावरण अस्तव्यस्त बन्दै गएको छ । फोहोरमैलाको व्यवस्थापन नहुँदा घर आँगनको फोहोर जम्मा गरेर नजिकैको खोला खोल्सीमा विसर्जन गर्दा प्रदुषण बढ्दै गएको छ ।

फोहोर व्यवस्थापनमा ध्यान दिने हो भने भर्खरै प्रवेश गरेको लामखुट्टे यो भन्दा बढी नफैलिने स्थानीय बुद्धिजीवी बताउँछन् । ‘फोहोर जत्ति बढ्यो, लामुखुट्टे पनि त्यत्ति नै बढ्दै जाने हो, त्यसैले लामखुट्टे बढाउने वा घटाउने हाम्रै हातमा छ’ स्थानीय कालु राजभण्डारीले भन्नुभयो ।

यसका लागि पानी जमेको खाल्डो पुर्नुपर्ने, फोहोरमैला आफैले व्यवस्थापन गर्नुपर्ने, सधै सरसफाइ गर्नुपर्ने, गाडीको टायर आदिमा पानी जम्न दिन नहुने उहाँको सुझाव छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार