झापालाई सरसफाइ सिकाउँदै गौरादहको गौचरन

  हिमाल खरेल  2495 पटक हेरिएको
🔗
4
Shares

गौरादह (झापा) : इच्छा, योजना र प्रतिवद्धता भएमा समाज परिवर्तन सजिलै हुन सक्छ भन्ने उदाहरण गौरादहको गौचरन बस्तीले देखाइदिएको छ । १८ घरधुरी रहेको गौचरनमा एक वर्ष अघिसम्म एउटा घरमा मात्र चर्पी थियो । एक वर्षको अवधिमा गौचरन बस्तीमा त चर्पी बने नै, सिंगै वडा समेत खुल्ला दिसामुक्त भयो ।

अहिले गौरादह नगरपालिका नै खुल्ला दिसाामुक्त घोषणा गर्ने तरखरमा छ, र बाँकी रहेको एउटामात्र वडा नंं ६ ले समेत अन्तिम गुणस्तर अनुगमन गरी खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति मागिसकेको छ ।

सानो बस्तीको सरसफाइमा उल्लेख्य फेरबदल आएको छ । गाई बाँध्ने हिले सडक अहिले सफा सडक बनेको छ । विहान दिसा पिसावका लागि किस्ने खोला धाउनेहरु घरसँगै रहेको चिटिक्कको चर्पीमा जान्छन् । उनीहरुले पानी छानेर पिउनुपर्ने झञ्झटबाट मुक्त छन्, किनकि प्रत्येक घरमा वितरण प्रणालीको सुरक्षित पानी पुगिसकेको छ । विरुप गौचरन बस्ती एक वर्षको अवधिमा नमूना सरसफाइ टोलमा बदलिएको छ ।

सबै जातजाति मिलेर बसेको गौचरनमा अहिले घरबाट निस्कने फोहरलाई जथाभावी फालिदैन । सबै घरमा बाँसको चोयाले बुनेका डस्टबिन राखिएका छन् । नकुहिने फोहर त्यसैमा जम्मा गरिन्छ । कुहिने फोहरलाई मलखादमा मिसाउँछन् । चर्पी चिटिक्क छन्, सफा गर्ने सामानसहित । घरको आँगन र सडकमा बाँधिएका चौपाया अहिले घरपछाडि बाँधिएका छन् । चोकहरुमा धुपीका विरुवा रोपिएको छ । टोलमा छिर्ने चिटिक्को प्रवेशद्वार बनाइएको छ ।

 

भोकले जन्माएको सफलता

“सरसफाइमा केही गरौं भन्ने भोक लागेको थियो, त्यसैले”, गौरादह नगरपालिका, वडा नं. १ का अध्यक्ष एवम् गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारी भन्नुहुन्छ, “पछाडि परेको, किस्ने खोलाको छेउमा रहेको बगर बस्ती छनौट गरी सरसफाइयुक्त बनाउने प्रयास गरेका हौं ।”

वडाको यही भोकमा साथ दिनुभयो सहजकर्ता रमा निरौलाले । “आफूले सहजीकरण गर्ने वडाहरु खुल्ला दिसामुक्त भैसक्दा पनि नगरपालिकाका केही वडा खुल्ला दिसामुक्त हुन सकेका थिएनन्”, निरौला भन्नुहुन्छ, “त्यसैले खुल्ला दिसामुक्त भएका वडामा थप केही गरौं भन्ने लाग्यो र वडाअध्यक्षसँग कुरा गरें । उहाँले सहमति जनाउनुभयो, काम सुरु भयो ।”

बस्तीको स्वरुप फेरिएसँगै मख्ख हुनुहुन्छ स्थानीय शान्ता मगर । “एक वर्ष अघिसम्म त चर्पी बनाउनै सकस थियो”, उनी सम्झनुहुन्छ, “धेरै पटक बैठक, भेला, छलफल भए । अब त गाउँलाई राम्रो बनाउनैपर्छ भन्ने निधोमा पुगियो ।”

नुहाउने, कपडा धुने र घरको लिपपोतलाई मात्र सरसफाइ हो भन्ने सोचाइ अहिले फेरिएको छ । भान्छाको सफाइदेखि चर्पीको सफाइसम्म पनि ध्यान दिनुपर्छ भन्ने कुरा आफूले पनि बल्ल बुझ्न थालेको बताउनुहुन्छ सीता घिमिरे ताजपुरिया । “टोलमा सरसफाइ महिला समिति गठन गरिएको छ । समितिले प्रत्येक हप्ता टोलको सरसफाइ गर्छ”, टोल समितिकी सचिव समेत रहेकी सीताको भनाइ छ, “पूर्ण सरसफाइ भनेकै बल्ल बुझिदैछ । पूर्ण सरसफाइको अवस्थामा पुग्न त धेरै सूचक पूरा गर्नुपर्ने रहेछ ।”

११ सदस्यीय पूर्ण सरसफाइ समितिमा महिलामात्र छन् । आफ्नो गाउँको मुहार फेर्ने काममा वडा र नगरपालिकाको साथ सहयोग खोजिरहेका छन् । “हामी प्रत्येक साता कहिले बाटोघाटो सफा गर्ने, कुनै साता घर आँगन सफा गर्ने त कुनै हप्ता चर्पीको सफा गर्दै हिड्छौं”, समितिकी अध्यक्ष शान्ता मगरले सुनाउनुभयो, “अब सडक छेउमा इटा लगाउने र लहरै फूलका विरुवा रोप्ने योजना बनाएका छौं ।”

 

वत्तीमुनिको अध्यारोमा एउटा आशाको झिल्को

निकै उदेकलाग्दो छ गौरादहको कहानी । यही क्षेत्रका हस्तीहरुले देशलाई नै नेतृत्व दिइरहेका छन् । यही हुर्किएका सीताराम कट्टेल (धुर्मुस) ले नेपाललाई नै सरसफाइ र समाजसेवा सिकाइरहेका छन् । यहींका अग्नी खरेल नेपाल सरकारका महान्याधिवक्ता छन् । यहींका हिक्मत कार्की प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री छन् भने यही निर्वाचन क्षेत्रका केपी ओली देशका प्रधानमन्त्री ।

विपन्नले चर्पी बनाउन सक्तैनन् भन्ने मानसिकता बोकेर वर्षौं वितायो यही गौरादहले । भूकम्प पीडितका लागि बस्ती नै बसाउने सरसफाइ दूतले आफ्नो गृहनगरमा चर्पी बनाउन अनुरोध गर्दै सार्वजनिक कार्यक्रमसम्म पनि गरेनन् ।

सडक खन्न पैसा पुग्दा विद्यालयमा चर्पी बनाउने पैसा पनि पुगेको थिएन यही गौरादहमा । दश जोड दुई कक्षासम्म पढाइ हुने विद्यालयमा छात्राका लागि समेत पर्याप्त चर्पी छैनन् । “हामीले अरुलाई धारे हात लगाउनुभन्दा आफै केही गरेर देखाउन चाहन्छौं”, वडाअध्यक्ष भण्डारी भन्नुहुन्छ, “त्यसैले पछाडि परेको बस्तीलाई नमूना बनाएर हाम्रो वडामा पूर्ण सरसफाइ अभियानको थालनी गरेका हौं ।”


ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको छ गौरादह नगरपालिकामा । सबै वडामा चर्पी बनिसके । केही वडा खुल्ला दिसामुक्त घोषणा भैसके, केही अन्तिम गुणस्तर अनुगमनको पर्खाइमा छन् । मनैदेखि चाह्यो भने सबै कुरा सम्भव छ भन्ने गौरादह नगरपालिकाले देखाएको बताउनुहुन्छ सहारा नेपालका खुल्ला दिसामुक्त अभियान संयोजक किसन गौतम । “तीन वर्षभित्र खुल्ला दिसामुक्त अवस्थामा पुग्ने योजना बनाएको यही गौरादह नगरपालिका, योजना बनाएको ६ महिनाको अवधिमा खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ”, गौतमको ठम्याइ छ, “राजनीतिक इच्छाशक्तिले नै सम्भव गरायो ।”

यस्तै देखिएको छ, वडा नं. १ मा समेत । यस वडा २०७४ चैत्र ३० मै खुल्ला दिसामुक्त घोषणा भयो । “हाम्रो समुदायलाई अनुकरणीय गराउनुपर्छ भनेर अघिल्लो आर्थिक वर्षमा सामान्य सहयोग गरेका थियौं”, वडाअध्यक्ष भण्डारीले भन्नुभयो, “चालु आर्थिक वर्षमा वडाका अन्य टोलहरुलाई समेत सरसफाइमा नमूना बनाउनेगरी नीति कार्यक्रम र बजेटको व्यवस्था गर्छौं ।”

सहयोगी हातहरुको खाँचो छ यहाँका लागि । “रमा बहिनी (खुल्ला दिसामुक्त अभियान सहजकर्ता) ले टोललाई सरसफाइमा नमूना बनाउनुपर्छ भन्नुभयो । हामीले सहमतिमात्र जनाएका छौं”, भण्डारीले भन्नुभयो, “ठूलो मेहनत अझै पनि गर्न पाएका छैनौं । यसलाई अघि बढाउनका लागि निरन्तर सहजीकरणको आवश्यकता छ । प्रभावकारी सहजीकरण नभएको भए वडा अझै पनि खुल्ला दिसामुक्त हुन कठिन हुन्थ्यो।”

 

 

 

जिल्लाकै लागि सिकाइ

खुल्ला दिसामुक्त अभियानसँगै पूर्ण सरसफाइ अभियानको थालनी अन्य वडाले समेत नगरेका भने होइनन् । साविकको कोरोबारी, महाभारा, शरणामती लगायतका गाउँहरुमा पूर्ण सरसफाइ नमूना टोल बनाउने थालनी भए । हाल भद्रपुर नगरपालिकामा गाभिएको पृथ्वीनगर नगरपालिकामा समेत औपचारिक कार्यक्रमकै थालनी गरेर सरसफाइ नमूना टोल बनाउने काम थालियो । तर पनि, काम बीचैमा रोकियो ।

“यस बस्तीमा पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिने र अन्य टोलहरुलाई पनि नमूना बनाउँदै लैजाने हो भने पाँच महिना अघिसम्म खुल्ला दिसामुक्त अभियानकै वाधक मानिएको गौरादह अबका दिनमा पूर्ण सरसफाइका लागि पाठशाला बन्न सक्छ”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोद शर्माको कथन छ, “नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना र सरसफाइ कार्यविधि पारित गरी योजनावद्ध रुपमा कार्यान्वयन गर्नु आवश्यक छ ।”

व्यक्तिको सरसफाइसम्बन्धी वानीव्यहोरा परिवर्तनमा जोड दिइरहेको समितिले । त्यसैले, प्रत्येक साता छलफल हुन्छ सरसफाइको बारेमा । घरहरुमा नारा लेखिएका छन् । ठाउँ ठाउँमा पूर्ण सरसफाइका सूचक राखिएका छन् । सूचनामूलक र जानकारीमूलक सन्देश टोलैभरी छन् । “यी सन्देश पढ्नेले पनि सरसफाइको बारेमा सिकून् भन्ने उद्धेश्य हो”, सहजकर्ता रमा निरौला भन्नुहुन्छ, “अब गौरादहकै वडा नं. ४ मा पनि पूर्ण सरसफाइउन्मुख टोल निर्माणको थालनी गर्ने योजना वडाले बनाएको छ ।”

हालैमात्र वडाले पूर्ण सरसफाइउन्मुख टोल निर्माणको थालनी ग¥यो औपचारिक रुपमा । वडाअध्यक्ष भण्डारीले नमूना टोललाई अझै समुन्नत र पूर्ण सरसफाइयुक्त बनाउन शुभकामना दिनुभयो ।

अब टोललाई कस्तो बनाउने योजना छ ? “सबैले साथ दिएमा झापाकै नमूना टोल बनाउछौं”, टोल सरसफाइ समितिकी अध्यक्ष शान्ता मगर सुनाउनुहुन्छ, “पूर्ण सरसफाइउन्मुख गाउँका सबै सूचकहरु पूरा गर्ने धोको छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार